साझा कथा । लोकरक ब्यान्डको रुपमा स्थापित नेपथ्यले लामो समयको अन्तरालपछि नयाँ गीत सार्वजनिक गरेको छ । गत शनिवार एक विशेष कार्यक्रमकाबीच नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई श्रोतामाझ प्रस्तुत गरेको हो ।
गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै आएका गायक अमृत गुरुङले ‘कर्नालीका छाइला’ तयार पारेका हुन् । गीत भर्खर सार्वजनिक भए पनि नेपथ्यलाई पछ्याउँदै आएका धेरैले यसबारे दुई दशक अगावै जानकारी पाइसकेका थिए । ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’ मा गायक अमृत र त्यस गीतका सङ्कलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए । शनिबारको कार्यक्रममा वृत्तचित्रको त्यो दृश्य पनि देखाइएको थियो । विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’ मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका हुन् । पुरानो नेपाली चलचित्र ‘माइतीघर’ मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ ।
‘कर्नालीका छाइला’ तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन् । अमृतका अनुसार ‘भेँडाको ऊनजस्तो’ एल्बममा अटाएको ‘सा कर्णाली’ गीत भेटिएकै बेला यस गीतको मुखडा पनि फेला परेको थियो । ‘सन् २००१ मा डोल्पातिरबाट आएका अङ्गद हमाल र यसका सङ्कलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ,’ अमृतले शनिबारको समारोहमा खुलाए, ‘यसबीच सन् २००८ मा एकपटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्त बुझेन र बाकसमा थन्क्याइदिएँ ।’
अमृतका अनुसार यो गीत सङ्कलन गर्दा स्थानीय जनजिब्रोका लाइनहरू पर्याप्त भेटिएका थिए । ‘टप्पा’ का सीमितताले गर्दा तिनै लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो । गीत तयार भएपछि सुहाउँदो म्युजिक भिडियोसहित सार्वजनिक गर्ने निधोमा आफू पुगेको व्यवस्थापन संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले बताए । गीतमा म्यूजिक भिडियोको निर्देशन भूषण दाहालले गरेका छन् भने पोष्ट प्रोडक्शन अल थ्री मिडिया घरले गरेको छ । ‘कर्णालीमै आधारित नेपथ्यको सिर्जना ‘सा कर्णाली’ दुई दशकअघि पनि भूषण दाहालकै शिल्पले सजाएको थियो,’ श्रेष्ठले भने, ‘यसलाई पनि उनले नै न्याय गर्न सक्ने हाम्रो विश्वास थियो । हालै त्यस भेगको यात्रा गरेर म्युजिक भिडियो तयार पारिएको छ ।’
नेपथ्यसँग काम गर्दा आफूले सदैव मित्रवत् चुनौती महसुस गर्ने गरेको भूषण दाहाल बताउँछन् । यसपटक भने नयाँ प्रविधि र तन्नेरी पुस्ताका सहकर्मीको साथ पाएर त्यस चुनौतीलाई सहजै सामना गरेको उनले उल्लेख गरे ।
समारोहमा शनिबार प्रस्तुत गरिएको यो म्युजिक भिडियो केही दिनलाई शुल्क तिरेर मात्र दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ । ‘नेपथ्यका कुनै पनि सिर्जनामा यो ब्यान्ड मन पराउने र यसलाई भरथेग गरौँ भन्ने भावना राख्नेको पक्कै पनि पहिलो हक लाग्छ,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘त्यसै अनुरूप यो भिडियो तत्काल हेर्न नेपालभित्र कम्तीमा १० रुपैयाँ र विदेशमा कम्तीमा एक डलर तिर्नुपर्ने बन्दोबस्त मिलाएका छौँ ।’ स्वेच्छापूर्वक बढी तिर्न खोज्नेलाई पनि आफूहरूले स्वागत गर्ने हिसाबले प्रबन्ध गरिएको उनले जानकारी दिए ।
गीत हेर्न चाहने दर्शकले नेपथ्यको वेबसाइट www.nepathya.com.np मा जानुपर्ने हुन्छ । त्यहाँ यस गीतका लागि लिङ्क दिइएको छ, जसलाई थिचेपछि सोझै ‘गेटवे’ मा पुगिन्छ । त्यसमा बैंकको विवरण वा कुनै पनि ‘पे वालेट’ प्रयोग गरेर अर्डर गर्न सकिन्छ । त्यसपछि उक्त व्यक्तिको इमेलमा प्राप्त हुने लिङ्क थिचेपछि खुल्ने म्युजिक भिडियोलाई जतिपटक पनि हेर्न सकिनेछ ।
पैसा नतिरेरै हेर्न चाहनेका हकमा भने यो म्युजिक भिडियो साता दिनपछि मात्र सार्वजनिक थलोमा उपलब्ध गराइनेछ । ‘हामी दुई दिनमै नेपथ्य साङ्गीतिक यात्राका लागि अमेरिका प्रस्थान गर्दैछौँ,’ श्रेष्ठले भने, ‘अमेरिका यात्राकै दौरान उपयुक्त समय हेरेर यो म्युजिक भिडियो युट्युबमा रिलिज गर्नेछौँ ।’
- फोटोः प्रकाश गोपाली