साझा कथा । पाल्पा जिल्ला तानसेन नगरपालिका ९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा गरिएको छ ।
वैशाख पूर्णिमा (बुद्ध जयन्ती)का दिन माण्डय ऋषिको तेस्रो रथ यात्रा निकालिएको हो । दमकडा क्षेत्र माण्डव्य ऋषिको तप, ज्ञान, साधना र शास्त्रार्थभूमि भएकाले उहाँको सम्झना र सम्मानमा रथयात्रा निकालिएको माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका अध्यक्ष पुर्षोत्तम अर्यालले बताउनुभयो । पञ्चेबाजा, भजन किर्तन, सामूहिक झाँकी सहित निष्किएको रथ यात्रामा विभिन्न संघ संस्था, टोल विकास समिति, स्थानीय आमा समूहका साथै समाजका बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
माण्डव्य ऋषिको ऐतिहासिक योगदानलाई जनमानसमा पुर्याउन र बैदिक परम्परागत कला संस्कृतिको जगेर्ना गर्न रथ यात्रा गरिएको तानसेन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।
सोहि अवसरमा तानसेन ९ निवासी लेखनाथ अधिकारीद्वारा लिखित तथा संकलित ‘महर्षी माण्डव्य र माडी’ नामक पुस्तकको लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा संविधानसभा सदस्य सोमप्रसाद पाण्डेले पाँच/छ हजार बर्ष अगाडिको माण्डव्य ऋषिको जनश्रुति, प्रमाण र दस्तावेज संकलन गरि लेखनाथ अधिकारीले समाजलाई ठूलो योगदान पुर्याउनु भएको बताउनुभयो ।
कार्यक्रमका वक्ताहरुले माडी उपत्यकाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व रहेपनि प्रचार प्रसारको अभावले यस क्षेत्रको गरिमा व्यापक हुन नसकेको बताए । लेखनाथ अधिकारीको पुस्तक ‘महर्षी माण्डव्य र माडी’ले यस क्षेत्रको महत्व स्थापित गर्न महत्वपूर्ण भुमिका खेल्नेमा उनिहरुले विश्वास व्यक्त गरे ।
लेखक अधिकारीको देवहसानपछि धर्मपत्नी सिता अधिकारीले यस पुस्तकलाई दस्तावेजीकरण गरि प्रकाशन गर्नुभएको हो । पुस्तक १८० पृष्ठको छ । प्रकाशिक सिता अधिकारीले पुस्तक पढेर सुझाव दिन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित सबैप्रति अधिकारी परिवारले धन्यवाद प्रकट गरको थियो ।