रासस, काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो ।
आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन् भने विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् । जेनजीका प्रतिनिधिहरु सडकमा सरसफाइ अभियानमा निस्किएका देखिएको छ ।
आगजनी गरिएका कार्यालयका कर्मचारीहरु पनि ससरफाइ, कागजात सङ्कलन क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएका छन् । कार्यालय सञ्चालनका लागि आवश्यक कामहरु गरिरहेका छन् ।
सेनाले पनि निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि ९ बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छभने आज साँझ ५ बजे ७ बजेसम्मका लागि पनि खुला गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गरी जानकारी दिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कर्फ्यू भने भदौ २६ गते बेलुकी ७ देखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।