काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा दुई अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बिमितहरूलाई भुक्तानी भएको छ । निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबी २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँमध्ये उक्त भुक्तानी भएको हो ।
नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत भएको कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ६७३ वटा दाबीको दुई अर्ब २७ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ । यसमा करिब १९ अर्ब एक करोड ९४ लाख दाबी रकम थियो ।
मोटर बिमातर्फ दुई हजार २७० दाबीको तीन अर्ब ४४ करोड २६ लाख रुपैयाँ दाबी रकममध्ये ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ १९२ वटा दाबी थियो । सो दाबीको ३६ करोड ७९ लाख दाबी रकममध्ये करिब चार करोड ६२ लाख रुपैयाँ र अन्य बिमातर्फ ४० वटा दाबीको करिब ३८ करोड ७२ लाख रुपैयाँ दाबी रकममध्ये २२ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको तथ्यांक प्राधिकरणमा बिमा कम्पनीहरूले बुझाएका छन् । परिवहन बिमातर्फ १२ वटा दाबीको दाबी रकम एक करोड ६६ लाख रुपैयाँ रहेको छ ।
प्रदेशगत रूपमा निर्जीवन बिमा कम्पनीहरूमा परेका कोसी प्रदेशमा ३९२ वटा दाबी परेको थियो । त्यसको करिब दुई अर्ब ३२ करोड ४६ लाख दाबी रकममध्ये ३१ करोड ८४ लाख रुपैयाँ, मधेस प्रदेशमा ३६७ वटा दाबीको ७० करोड चार लाख रुपैयाँ दाबी रकममध्ये चार करोड ७१ लाख रुपैयाँ र वाग्मती प्रदेशमा एक हजार ७२३ वटा दाबीको करिब १७ अर्ब ६१ करोड ६२ लाख रुपैयाँ दाबी रकममध्ये दुई अर्ब १५ करोड ५९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा २१६ वटा दाबी परेको थियो । त्यसको करिब एक अर्ब ६९ करोड २३ लाख रुपैयाँ दाबी रकममध्ये १५ करोड १८ लाख रुपैयाँ भुक्तानी भएको छ । लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको ४७ करोड ४४ लाख रुपैयाँ दाबी रकममध्ये आठ करोड ७८ लाख रुपैयाँ कर्णालीमा २८ वटा दाबीको ९ करोड ९९ लाख रुपैयाँ दाबी रकममध्ये ९० लाख रुपैयाँ र सुदूरपश्चिममा परेका २०४ वटा दाबीको ३२ करोड ६० लाख रुपैयाँ दाबी रकममध्ये दुई करोड ७२ लाख रुपैयाँ अग्रिम भुक्तानी भएकोे तथ्यांक निर्जीवन बिमा कम्पनीबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

तपाईको विचार
0 प्रतिक्रिया