खेमराज नेपालको ‘इलामको नालीबेली’ को काठमाडौँमा एक विशेष समारोहका बीच लोकार्पण

काठमाडौँ ८ मङ्सिर। पूर्वसचिव, लेखक एवम् अनुसन्धानकर्ता खेमराज नेपालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘इलामको नालीबेली’ को काठमाडौँमा एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । इलाम नगरपालिका र इलाम विकास समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् एवम् पूर्वराजदूत केदारभक्त माथेमा, कार्यक्रमका सभाध्यक्ष एवम् इलाम नगरपालिकाका मेयर केदार थापा, सांसद निश्कल राई लगायतका विशिष्ट व्यक्तित्वहरूले कृतिको सामूहिक रूपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमको सुरुवातमा भोटेकोशी बाढीमा परी दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । त्यसपश्चात् सभाध्यक्ष थापा र प्रमुख अतिथि माथेमाले गमलामा पानी हालेर समारोहको समुद्घाटन गर्नुभयो । सोही अवसरमा लेखक नेपाललाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माथेमाले कृतिकार नेपाललाई बधाई ज्ञापन गर्दै नेपालको चियामध्ये इलामको चिया विश्वमै उत्कृष्ट रहेको चर्चा गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम् इलाम नगरपालिकाका मेयर केदार थापाले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो । सेवानिवृत्त जीवनपछि पनि समाजलाई उत्प्रेरणा दिने खोजमूलक कार्यमा संलग्न भएकोमा लेखकलाई धन्यवाद दिँदै मेयर थापाले ‘इलामको नालीबेली’ को अपनत्व ग्रहण गरी नगरपालिकाले प्रकाशनको जिम्मेवारी लिएको जानकारी दिनुभयो । सोही क्रममा उहाँले इलाममा मेडिकल कलेजको आवश्यकता महसुस गरिएको समेत उल्लेख गर्नुभयो ।
कृतिकार खेमराज नेपालले इलामको समग्र पक्ष समेटिएको यस्तो पुस्तक यसअघि प्रकाशन नभएको महसुस गरी आफूले ‘इलामको नालीबेली’ तयार पारेको बताउनुभयो ।
पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै प्राडा प्रेमसागर चापागाईले यो कृति इलामको एक दुर्लभ दस्तावेज भएको बताउनुभयो । पुस्तकमा इलामको नामाकरण, इतिहास, लिम्बू जातिको विस्तृत चर्चा, जमिनको वर्गीकरण र भू–उपयोगका साथै तत्कालीन समाज, संस्कृति, धर्म, सतीप्रथा, कमाराकमारी राख्ने व्यवस्था, छुवाछुतको भेदभाव र कामको बाँडफाँडजस्ता ऐतिहासिक प्रसङ्गहरू समेटिएको उहाँले जानकारी दिनुभयो ।
समारोहमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इलाममा क्याम्पस प्रमुख भएर काम गर्दाको अनुभव स्मरण गर्नुभयो । मन्तव्यका क्रममा उहाँले ‘टिको लगाएर’ प्राध्यापक बन्ने प्रवृत्ति र विद्वानहरूले चलाएको प्रशासनमा समेत शिर निहुराउनुपर्ने वर्तमान अवस्थाप्रति तिखो व्यङ्ग्य प्रहार गर्नुभयो ।
कार्यक्रममा इलामका सांसद निश्कल राई, पूर्वसचिव दिनेश थपलिया, शम्भुप्रसाद श्रेष्ठ, लक्ष्मीनाथ शर्मा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साहित्यकार राधेश्याम लेकालीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा इलामको वनस्पति तथा विविध सम्पदाका विषयमा समेत चर्चा गरिएको थियो ।
Source: Dhurbatara
तपाईलाई केहि भन्नु छ ?
0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted

यो पढ्नु भयो ?

0
Would love your thoughts, please comment.x
()
x