साझा कथा । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि सच्याउन सरकार तयार भएको छ । राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सवारीका नाममा आमनागरिकले दुःख पाएको र माघ २७ गते चिकित्सहरु घाइत हुनेगरी भएको प्रहरी हस्तक्षेपको घटनाले सरकारलाई कार्यविधि सच्याउन बाध्य पारेको हो ।
यही माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेपछि चिकित्सकहरुले आन्दोलन गरेका थिए । चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
सहमति पत्रको चार नम्बर बुँदामा बिरामी, आम नागरिक, विशेष गरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहज नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकारलाई एकहप्ताभित्र सुझाव पेश गर्ने उल्लेख छ । उक्त सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि लेखिएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुको सवारी हुँदा खासै गुनासो नआएपनि नेपालमा राष्ट्रपतिको हरेक सवारीमा सडक, सवारी र विभिन्न पेशागत व्यक्तिहरुबाट चर्को विरोध हुने गरेको छ ।