साझा कथा । सोमबारदेखि विभिन्न माग राखी आन्दोलनरत मजदुरहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँगको मंगलबार विहान भएको वार्तामा आन्दोलन फिर्ता लिने सहमति भएको हो ।
मंगलवार यातायात व्यवसायी र मजदुरहरुले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि तत्कालका लागि सार्वजनिक यातायात ठप्प बनाउने कार्यक्रम स्थगन गरेको हो । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँचबुँदे सम्झौता गरेको छ । सङ्गठन र मन्त्रालयबीच आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति भएको छ । त्यस्तै, यातायात मजदुर सङ्गठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको छ ।
यातायात मजदुरहरुलाई कुटपिट गर्नेहरुलाई पक्राउ गरी तत्काल कारबाही गर्न र ल्होत्से हलमा भएको मोबाइल लुटपाटका सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्न पनि उनले निर्देशन दिएका छन् ।
सोमबार मजदुरहरुले ट्राफिक प्रहरीले मजदुरलाई दुःख दिएको र बसपार्क संचालन गर्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले मनोमानी गरेको भन्दै आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा बालाजु र गोंगबु क्षेत्रमा तोडफोड र आगजनीका घटना भएका थिए । सँगै बालाजु क्षेत्रमा केही पसलमा लुटपाट पनि भएको थियो ।
यी सबै घटनाको जिम्मा नयाँ बसपार्क संचालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने मजदुरहरुको माग छ । शान्तिपूर्ण आन्दोलन गरिरहँदा ल्होत्सेका कर्मचारीहरुले मजदुरलाई भड्काएको उनीहरुको आरोप छ । साथै लुटपाटमा पनि ल्होत्सेले खटाएका व्यक्तिहरु संलग्न रहेको उनीहरुले आरोप लगाएका छन् ।
ल्होत्सेले काठमाडौं महानगरपालिकासँग सम्झौता गरी ४५ बर्षका लागि गोंगबुस्थित नयाँ बसपार्क संचालन गर्ने ठेक्का पाएको छ । ल्होत्सेले भने यातायात व्यवसायी र मजदुरहरुलाई कानून बमोजिम काम गर्न मात्र आग्रह गरिएको र बसपार्क भन्दा बाहिरबाट यात्रु चढाउन नपाएको र मनोमानी गर्न नपाएको झोँकमा आन्दालन गरेको आरोप लगाएको छ ।