साझा कथा । सोमबार यातायात मजदुरहरुले गरेको आन्दोनलको क्रममा गोंगबु क्षेत्रमा ९ करोड बराबरको मोबाइल र सरसामान लुटपाट भएको व्यवसायीहरुले बताएका छन् । साथा कथासँग कुरा गर्दै ल्होत्से मलमा मोबाइल पसल संचालन गर्ने सागर वाग्लेले ९ करोड बराबरको मोबाइल लुटिएको बताए ।
अनियन्त्रित भएको भिडलाई राज्यले नियन्त्रण गर्न नसकेको भन्दै वाग्लेले क्षति भएको सामानको क्षतिपुर्ति राज्यले दिनुपर्ने बताए । ट्राफिक प्रहरीले बढी जरिवाना गराउने र अनावश्यक दुःख दिने गरेको, नयाँ बसपार्क संचालन गर्ने संस्था ल्होत्से बहुउद्देश्यीय प्रालिले मनोमानी गरेको भन्दै मजदुरहरु सोमबार आन्दोलित भएका थिए । सोमबार प्रदर्शनले उग्र रुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । बसपार्कमा उत्तेजित भिडले मोबाइल पसलमा छिरेर लुटपाट समेत गरेको थियो ।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले सीसीटिभिमा र केहि व्यक्तिहरुले समेत कैद गरेको भिडियोको विश्लेषण पनि गरिरहेको छ । ल्होत्से हलमा भएको मोबाइल लुटपाटका सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिइसकेका छन् ।