Ad Banner

‘भ्यालेन्टाइन डे’ मा ओलीले गरे विछोडको संकेत

साझा कथा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ महाधिवेशन आजबाट सुरु भएको छ । महाधिवेशन उदघाटन कार्यक्रमको प्रमुख अतिथि थिए एमाले अध्यक्ष केपी शर्मा ओली । नेपाली राजनैतिक पात्रहरुमध्ये ओली अलि बढी रसिक नै छन्, सबै क्षेत्रमा धेरथोर ज्ञान पनि राख्छन् । यति मात्रै होइन, युवामाझ आफूलाई प्रस्तुत गर्न ओली अरु नेताहरुभन्दा अब्बल र सिपालु छन् । समसामयिक घटनाक्रमका विषयमा अद्यावधिक हुने र त्यसैअनुसार आफ्नो भाषण र व्यवहार देखाउनेमा ओली अग्रपंक्तिमा पर्छन् ।

अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रमा अतिथिको आसनबाट ओली जब पोडियमतर्फ अघि बढे, दर्शकदिर्घाबाट “आइ लभ यु के पी बा” भन्ने आवाज आयो । ओलीलाई पार्टीका आन्तरिक बैठक मात्रै होइन सार्वजनिक समारोहहरुमा समेत एमाले कार्यकर्ताहरुले ‘बा’ भनेर सम्बोधन गर्ने गर्छन् । अनेरास्ववियुकै कार्यकर्ताहरुबाट भ्यालेन्टाइन डे को दिन ‘आइ लभ यु’ आएपछि ओलीले पनि किन बाँकी राख्थे र ? उनले भने “थ्याङ्क्यु, लभ यु अल, ह्याप्पी भ्यालेन्टाइन डे ।” उनले यसो भन्दा हलबाट ठूलो हुटिङ सुरु भयो । उनले फेरि ‘लभ यु अल’ दोहोर्याए, हुटिङ र तालीको बर्षा भयो ।

मन्तव्य सुरु गर्नुपूर्व प्रेमप्रसंग चलेपनि मन्तव्यको दौरान भने ओलीले प्रेम होइन, विछोडको संकेत गरे । उनले वर्तमान गठबन्धन तोडिन सक्ने र नयाँ गठबन्धन निर्माण हुनसक्ने संकेत गरे ।

“हामीले तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनायौं । त्यो देखेर धेरै साथीहरू प्रशन्न हुनुहुन्छ । प्रशन्न हुनुपनि पर्छ । तर भोलि यो स्थिति फेरियो भने….” उनले भने, “राजनीतिमा धेरै उतारचढाव हुन्छ । अहिले पनि देशभित्र र बाहिरका अनेक शक्ति यहाँ स्थीरता हुन नदिन र देशलाई बर्बाद पार्न क्रियाशील छन् ।”

ओलीले थपे, “सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।”

प्रणय दिवसको दिन उनले वर्तमान गठबन्धनको विछोड र नयाँ प्रणय सम्बन्ध हुनसक्नेतर्फ संकेत गरे । उनको संकेत फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचनमा आफ्ना उमेदवारलाई माओवादीले सहयोग नगर्ने तर्फ थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटान लगाउँदै एमालेका उमेदवारलाई सघाउन नसकिने संकेत गरिरहेका छन् ।

यति भन्दै गर्दा ओलीले तत्कालीन नेकपाको प्रसंग पनि उठाए । आफू सरकारमा हुँदा नेकपाभित्रकै मानिसहरूका कारण नेकपा फुटेको उनले बताए । “त्यतिबेला हामीलाई बाहिरबाट प्रहार भयो । भित्रबाट पनि धेरै प्रहार भयो,” ओलीले भने, “जसरी विभिषण नभएको भए रामले रावणलाई पराजित गर्न सक्ने थिएनन्। त्यसैगरी एमालेभित्र पनि त्यस्ता केही मानिस नभएको भए उनीहरू पराजित गर्न सक्दैनथे होला ।”

यो पढ्नु भयो ?