साझा कथा । सत्तारुढ प्रमुख घटक नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । बडाल ९६५ मतसहित विजयी भएका हुन् । अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार बडालका निकटतम प्रतिष्पर्धी आरसी लामिछानेले ३५६ मत प्राप्त गरे ।
यसैगरी, अध्यक्ष पदका अर्का उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ मत ल्याए । नवनिर्वाचित अध्यक्ष बडाल यसअघि अनेरास्ववियुको महासचिव थिए । विद्यार्थीहरुमाझ त्यति लोकप्रिय नरहेका उनको जीतलाई अस्वभाविक भन्दै केही प्रतिनिधिहरु निराश भएर जिल्ला फर्किएका छन् । बडाललाई जिताउन अनेरास्ववियुका पूर्व अध्यक्ष माधव ढुंगेल र जनसंगठन प्रमुख भानुभक्त ढकालले प्रत्यक्ष भूमिका खेलेको स्रोतले बतायो । पार्टीमा प्रभाव राख्ने ती नेताहरुले जिल्लाबाट आएका केहि प्रतिनिधिहरुलाई बडाललाई भोट नदिए राजनीति सिध्याइदिने धम्की समेत दिएको स्रोतले बताएको छ ।
बरिष्ठ उपाध्यक्ष लामिछानेलाई हराउनका लागि पूर्व अध्यक्ष ऐन महरको समेत भूमिका रहेको स्रोतले बतायो । सुदुरपश्चिमबाट लामिछानेलाई एकदमै न्यून मत प्राप्त भएको थियो । सो हुनुमा महरको हात रहेको बताइएको छ । पार्टीका सम्पूर्ण शक्ति मिल्दा पनि लामिछानेले सम्मानजनक मत पाएको ती नेताले बताए ।
२०६२ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित भएका थिए । उनलाई अनेरास्ववियुभित्र बुद्धि भन्दा बढी पाखुराको बल देखाउने नेताको रुपमा चित्रण गरिन्छ । उनी ठेक्कापट्टामा पनि संलग्न रहेको स्रोतको भनाई छ । ठेक्कापट्टाकै विवाद उत्कर्षमा पुग्दा केही बर्षअघि उनको हात समेत काटिएको थियो । कान्तिपुर भेट कम्पनी संचालन गर्ने बडाल मेडिकल सप्लाएर पनि हुन् ।
विद्यार्थी राजनीतिमा वास्तविक विद्यार्थीहरु भन्दा विभिन्न पेशा व्यवसाय गर्नेहरु संलग्न भएको कुरा नौलो होइन । अनेरास्ववियु मात्रै होइन, अन्य दलका विद्यार्थी संगठनको अवस्था पनि उस्तै छ । तर विद्यार्थीको हतहितका लागि बोल्ने र संघर्ष गर्ने व्यक्ति भन्दा पनि नेताहरुको आशिर्वाद प्राप्त गर्नेहरु र अवास्तविक विद्यार्थीहरु नेतृत्वमा पुग्नु चाँहि दुःखद भएको अनेरास्ववियुकै एक नेताले बताए । अझ जनसंगठन प्रमुख ढकालले अमुक व्यक्तिलाई हराउन र अर्को कुनै व्यक्तिलाई जिताउन आन्तरिक सर्कुलर गरेर जानु विडम्बना भएको ती नेताले बताए ।
अनेरास्ववियुको अध्यक्ष जिताउन भानुभक्त ढकाल र माधव ढुंगेलले अराजनैतिक गतिविधि गरेको अनेरास्ववियुकै एक नेताले नाम नबताउने शर्तमा जानकारी दिए । अझ रोचक पक्ष त भानुभक्त ढकालहरुका अध्यक्ष बाहेकका आधिकारिक उम्मेदवार नै पराजित भए । महासचिवमा भिडेका भाष्कर खनाल, उपाध्यक्षमा भिडेका झपिन्द्र खत्री र प्रकाश भुजेल ढकालका आधिकारिक उमेदवार थिए । भानुभक्त तिनै नेता हुन् जसले विद्यार्थीमा गुटबन्दी गरेको भन्दै नेकपा एमालेले २०५३ सालमा महासचिवबाटै हटाएको थियो ।