साझा कथा । नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताए ।
संविधान रक्षाका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको महतले बताए । राष्ट्रपति नेपाली काँग्रेसको हुने वा नहुने भन्नेकुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्नेकुरा प्रमुख रहेको बताउदै उनले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको बताए ।
प्रवक्ता महतले राष्ट्रपतिमा काँग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने समेत बताए ।