साझा कथा । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुबिरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् ।
व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती बिरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
बिरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरुले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकको आतंकलाई बन्द गर्न र व्यवसायीहरुलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरुको माग सम्बोधन हुन सबै व्यवसायीहरु प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे ।
त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष कुमार कार्कीले नेपालीहरुले नेपालमा नै गरिखान पाउनुपर्ने बताए । उनले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको आरोप लगाउँदै उनले सरकार यसरी मौन बस्नु नहुने बताए ।
पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप उनीहरुको छ । उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीबिरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।