राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा कोको हुन् मतदाता ?

साझा कथा । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तय गरेको छ । निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । सो कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्दैछ । दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहने छन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिएको छ । साथै फागुन १३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ देखि अपराह्न २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।

यो पढ्नु भयो ?