Ad Banner

४० दिन सरकारमा बसेर बाहिरियो राप्रपा, प्रदेशबाट पनि हट्दै

साझा कथा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राजनीति फेरि अस्थीरतातर्फ अग्रसर भएको भन्दै राप्रपाले सरकारमा बसिरहनु उचित नभएको ठहर गरेको छ । आजै राप्रपाका ४ जना मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाएको राप्रपा ३ माघमा मात्र अध्यक्ष लिङदेनकै नेतृत्वमा सरकारमा सहभागी भएको थियो ।

पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो ।

४० दिनमात्रै सरकारमा बसेर राप्रपा बाहिरिएको हो । यो बीचमा पार्टीका नेता विक्रम पाण्डेलाई सिक्टा सिँचाई आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा सफाइ दिलाउनुबाहेक राप्रपाले सरकारमा बसेर केहि नगरेको गुनासो थियो ।

बैठकले प्रदेशसभामा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेशहरुबाट पनि राप्रपाका मन्त्रीहरुले राजीनामा दिन सुरु गरेका छन् ।

शुक्रबार भएको बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो । कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्नेसमेत निर्णय गरेको थियो ।

यो पढ्नु भयो ?