साझा कथा । पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहँदा कारोबार रकम पनि घट्दै गएको छ । यस साताको सोमबारदेखि नेप्से ओरालो लागेसँगै बुधबार नेप्से परिसूचक १९९५.४९ मा आइपुगेको छ । नेपाली शेयर बजार हल्लाहरुको पछि लाग्ने गरेको टिप्पणी पनि हुने गरेको छ । राष्ट्रपतिको निर्वाचन घोषणा भएसँगै ओरालो लाग्न थालेको नेप्सेमा चुनावसम्म गिरावट आउने बताइएको छ ।राष्ट्रपतिको चुनाव तय भएसँगै एमाले नेतृत्वको गठबन्धनमा खटपट सुरु भएको थियो । राष्ट्रपतिको चुनावपछि शेयर बजारमा सुधार आउन सक्ने विज्ञहरुले बताएका छन् ।
विश्वव्यापी रुपमा शेयर बजारको घटबढ मुलुकको अर्थतन्त्रसँग सम्बन्धित हुन्छ तर नेपालमा राजनैतिक परिवर्तन, अर्थमन्त्रालय सम्हाल्ने पार्टी वा व्यक्ति हेरेर शेयर बजारमा घटबढ हुने गरेको छ ।
बुधबार नेप्से परिसूचक २४.४४ अंक घटेको छ । गत सोमबार नेप्से परिसूचक ३.६५ अंक घट्दा १ अर्ब ८९ करोडको शेयर कारोबार भएको थियो । त्यस्तै, मंगलबार नेप्से परिसूचक ३.८१ अंक घट्दा कारोबार रकम १ अर्ब ३८ करोडमा सीमित भएको थियो । यससँगै कारोबार रकम पनि घटेर १ अर्ब २८ करोडमा झरेको छ ।
तर सूचक घट्दा कारोबार रकम पनि घट्नुलाई राम्रो मानिन्छ । यसले बजारमा लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न नचाहेको संकेत गर्ने जानकारहरु बताउँछन् ।
आज २५७ स्टकको २६ हजार ४५४ पटकको कारोबारमा १ अबए २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ बराबरको ३७ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । बजार घटेपनि यस दिन आदर्श लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन १५१ रुपैयाँ २० पैसा बढेर १ हजार ६६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ । कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सर्वाधिक ९.६१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ८ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर कारोबार भएको छ ।
बुधबार १३ वटै उपमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा , निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।