साझा कथा । हल्ला, राजनीति र कुनै एउटा निर्णयले पनि प्रभाव पार्ने नेपालको शेयर बजारमा आकस्मिक उछाल आएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निणर्य गरेसँगै शेयर बजारमा हरियाली छायो । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से परिसूचक ५० अंक बढेर बन्द भएको छ ।
बैंकर्स संघको बिहीबार बसेको बैठकमा बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका थिए । आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका बैंकहरुले प्रिमियम घटाउने भएसँगै कर्जाको ब्याजदर घट्ने भएको छ ।
ब्याजदरसँग नकारात्मक सम्बन्ध रहेको बजार, ब्याजदर घट्ने भएसँगै बढ्न पुगेको हो । बिहीबार नेप्से परिसूचक ५०.०४ अंक बढेर २००२.७० विन्दुमा पुगेको छ । नेप्सेसँगै विहिबार कारोबार रकम पनि बढेको छ । आज २६२ स्टकको ३८ हजार १३१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ४५ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार १ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।