साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, “मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।”
“विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस्। म तपाईँहरूको सुखदुखमा साथमै हुनेछ” प्रधानमन्त्रीले प्रचण्डले भने, “यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईँहरूलाई जनही तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।”
यस्तै प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन समेत दिएका छन् । यस्तै मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माणकार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत प्रचण्डले व्यक्त गरे ।