साझा कथा । पछिल्लो समय शेयर बजार एक दिन बढ्नै वित्तिकै भोलिपल्ट घट्ने गरिरहेको छ । सोमबार २२.६५ अंकले वृद्धि भएको नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन बुधबार १५.७६ अंकले घटेको छ । अघिल्लो साता पनि २ अंकको वृद्धि हुँदा २ अंककै गिरावट आउने ट्रेण्ड देखिएको थियो । शेयर बजारमा यस्तो ट्रेण्ड हेर्दा लगानीकर्ता बजारप्रति विश्वस्त छैनन् भन्ने देखिन्छ । नेपालको तरल राजनीति र विग्रदो अर्थतन्त्रका कारण उनीहरु आफ्नो लगानीप्रति ढुक्क छैनन् ।
हुन त शेयर बजार घटबढ भइरहन्छ । माग र आपूर्तिले बजार मूल्य निर्धारण गर्ने हो । तर पछिल्लो लामो समयदेखि बजार निरन्तर घट्दो ट्रेण्डमा रहेको छ । यस्तो अवस्थामा राम्रा लाभांश दिएका कम्पनीको शेयर मूल्य पनि तल्लो विन्दुमा ओर्लिएको छ । तर पनि ती कम्पनीको शेयर खरिद गर्नेहरुको संख्या बढी छ ।
पछिल्लो समय लगानीकर्ता दीर्घकालभन्दा पनि अल्पकालीन रूपमा लाभ लिन खोजिरहेका छन् । सोही कारण बजार केही बढ्ने बित्तिकै घट्ने गरिरहेको छ ।
बुधबार नेप्से परिसूचक १५ दशमलव ७६ अंक घटेर १ हजार ९३३ दशमलव २९ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव ३२ अंक घटेको छ । त्यस्तै फ्लोट इन्डेक्स १ दशमलव १३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८३ अंक घटेको हो । यस दिन कुल बजार पूँजीकरण २७ खर्ब ९३ अर्ब कायम भएको छ ।
कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ८७ प्रतिशत घटेको छ । बोटलर्स नेपाल तराईको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ६२ प्रतिशत घटेसँगै उत्पादन तथा प्रशोधन समूहको परिसूचक धेरै घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११ हजार ७३२ मा झरेको छ । त्यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको इकाई मूल्य ५ दशमलव ८५ प्रतिशत घटेर ७ दशमलव ८८ कायम भएको छ ।
सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयरधनीले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएर २९२ पुगेको छ । कम्पनीको शेयर आजैदेखि धितोपत्रको दोस्रो बजारको कारोबारमा आएको हो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् । त्यस्तै दोस्रोमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव ११ प्रतिशत वृद्धि भएर ९५५ पुगेको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ९ करोड १९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य रू। ६४९ दशमलव ९० कायम भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको ८ करोड २४ लाख बराबर छ ।
यी दुई कम्पनीलगायत हिमालयन डिष्टिलरी, नबिल बैंक र शिवम् सिमेन्टको बढी कारोबार भएको छ । घटेको बजारमा लगानीकर्ताहरूले दीर्घकालीन लगानीमा ध्यान दिएको पाइन्छ । नेपाल लाइफले वर्षेनी लगानीकर्तालाई लाभांश वितरण गर्ने गर्दछ भने एनआईसी एशिया बैंकले विगत दुई वर्षदेखि लाभांश दिएको छैन । राम्रो लाभांश पाउने अशामा पनि शेयर कारोबार भएको देखिन्छ ।