भक्तपुर अस्पतालमा निःशुल्क होलबडी चेकअप

भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् । उनका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको हो ।

प्रदेश सरकारले अस्पताललाई रु २५ लाख उपलब्ध गराएको उनले जानकारी दिए । अस्पतालले एक दिनमा बढीमा १० जनासम्मको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको डा. गौतमले बताइन् । सेवा लिनका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिसमा अस्पतालले बागमती प्रदेशभित्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ ।

निजी अस्पताल वा क्लिनिकमा पूर्ण स्वास्थ्य परीक्षण गर्दा महँगो हुने भएकाले अस्पतालबाट उपलब्ध निःशुल्क सेवा लिन अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले प्रदेशका बासिन्दालाई आह्वान गरे । अस्पतालले प्रदेश सरकारको सहयोगमा नसर्ने रोग पहिचानका लागि स्वास्थ्य परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक बार्डसमेत स्थापना गरेर सेवा विस्तार गरेको उनले जानकारी दिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?