Ad Banner

मातृ मृत्युदरमा आयो सुधार

साझा कथा । नेपालमा मातृ मृत्युमा उल्लेख्य सुधार आएको छ । राष्ट्रिय जनगणनाले नेपालमा प्रति एकलाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ । पाँच वर्ष अघि नेपालमा मातृ मृत्यु दर २३९ जना रहेको थियो । जनगणनासँगै यसपटक मातृ मृत्युका विषयमा पनि अध्ययन भएको थियो । उक्त अध्ययनले नेपालमा एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन गरिएको हो । गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ ।

जनगणानाका समयमा जनगणनाका गणकहरुले गणनाको क्रममा कुनै घरपरिवारमा एक वर्षभित्रमा कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनि अध्ययन गरेका थिए । यदी कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरुले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराएका थिए । त्यसपछि स्वास्थ्यकर्मीले मातृ मृत्यु भएको घरमा पुगेर ‘भर्वल अटप्सि’ प्रश्नावली भरेका थिए ।

प्रजनन् उमेरका महिलाहरुको मृत्युमध्ये करिब १२ प्रतिशत महिलाको मृत्युको कारण मातृ मृत्यु रहेको पाइन्छ । सन् २०१६ मा एक लाख जीवित जन्ममा मातृ मृत्यु अनुपात २३९ रहेको थियो । दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा यो अनुपात ७० मा झार्ने सरकारको लक्ष्य छ ।

यो पढ्नु भयो ?