साझा कथा । राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा सांसदहरुले जनताका समस्याहरुलाई उठान गरेका छन् । उनीहरुले मिटरव्याजी पीडितहरुका समस्यादेखि क्रिकेट रंगशालासम्मका कुरा उठाएका छन् । मिटरव्याजी पीडितहरु आफ्ना समस्या सुनाउन काठमाडौं आएका छन् । महोत्तरीको बर्दिवासबाट मीटर ब्याज पीडितहरु न्याय माग्दै ११ दिन सम्म पैदल यात्रा गर्दै आज काठमाण्डौं आइपुगेका छन् । यस यात्रामा अधिकांश महिलाहरु थिए ।
राष्ट्रिय सभामा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद गङ्गाकुमारी बेलवासेले मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न माग गरिन् । उनले मिटरब्याजी पीडितको समस्या तत्काल संशोधन गर्न आवश्यक कानून संशोधन गर्न सरकारको ध्यानाकर्षण समेत गराइन् ।
“मिटरब्याजी पीडितले ६० दिन आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सहमति गरेर मिटरब्याजीको आन्दोलनलाई समाधान गर्ने खालको सहमति गरेको थियो, देशभरबाट तीन हजारबाट पीडितको निवेदन गृहमन्त्रालयमा परेको छ”, उनले भनिन्, “त्यसका लागि सरकारले बनाएको कार्यदलले १० वटा कानून संशोधन गर्न सिफारिस गरेको छ, त्यो कानून जतिसक्दो छिटो संशोधन हुनुपर्ने जरुरी छ, कानून नहुँदा पीडितहरूरुले दुःख पाएका छन् ।”
नेकपा एमालेकी दिलकुमारी रावल थापाले धेरै प्राणघातक रोगले नागरिकले दुःख पाइरहेको अवस्थामा पीडितले उपचार प्रभावकारीरूपमा गर्न नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले वीर अस्पताल, क्यान्सर अस्पताल भरतपुरजस्ता सरकारी अस्पतालमा पनि बिरामी परीक्षण गर्ने मेसिन नभएको उल्लेख गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिइन् ।
नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले नेपालीलाई वैदेशिक रोजागारी, शिक्षा, स्वास्थ्य आदिका लागि विदेश जानुपर्ने बाध्यताजस्तो देखा परेको र धेरै महिलाले वैदेशिक रोजगारीमा दुःख पाएर फर्र्किएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गम्भीर भएर सोच्न आग्रह गरिन् ।
सांसद बामदेव गौतमले देशमा सुशासन कायम गर्न वर्णाश्रम व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै वर्णाश्रमको व्यवस्थाले जातियताको रूप लिएको हुनाले अन्त्य गर्नुपर्नेमा सरकारसँग माग गरे । नेपाली कांग्रेसका युवराज शर्माले सामान्य जनताले थोरै मात्रामा ल्याएको खाद्य सामाग्रीलाई सीमा नाकामा समात्ने तर ठूला तस्करहरूलाई लाइन मिलाएर छोडिदिन गरेको कार्यप्रति सरकारको ध्यानाकर्षण गराए ।
स्वतन्त्र सांसद खिमलाल देवकोटाले धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन चितवनस्थित क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिएर बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।