Ad Banner

जहाँ गरिबको सूचीमा कर्मचारी र व्यवसायीको नाम छ..

साझा कथा । निधन भइसकेका व्यक्तिको नाममा अरु कसैले वृद्ध भत्ता लिने, निधन भइसकेका व्यक्तिका नाममा भोट हाल्ने जस्ता कामहरु हामीले सुन्दै आइरहेका छौँ । दार्चुलाको एक स्थानीय तहले त गरिबको सूचीमा कर्मचारी र व्यवसायीको नाम राखेको पाइएको छ । दार्चुलाका मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता गरेको पाइएको छ ।

गाउँपालिकाले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका लागि सूचना जारी गरिसकेको छ । तर सूचीमा वास्तविक गरिब नभएर गरिबका रुपमा सरकारी कर्मचारी र व्यवसायीको नाम समावेश गरिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको एक हजार दुई सय १० जना गरिब घरपरिवारको सूचीमा बढीजसो सरकारी कर्मचारी, निवर्तमान जनप्रतिनिधि र व्यवसायीका नाम समावेश गरिएको छ ।

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हीरा सिंह धामीले सूचीमा अनियमितता भएकोे भनेर कसैले उजुरी दिए छानबिन गरिने बताए । “गरिब घरपरिवार सूची पहिलेको स्थानीय सरकारले सङ्कलन गरेर तयार पारेको सूची हामीले सार्वजनीक गरेका हौँ, त्यसमा अनियमिता भएको उजुरी दिए छानबिन गर्छौ”, अध्यक्ष धामीले भने ।

लेकम गाउँपालिकाले सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा पनि सरकारी कर्मचारी र राजनीतिक पार्टी निकटका व्यापारी व्यवसायीको नाम समावेश गरिएको स्थानीयको आरोप छ । स्थानीय चन्द्र साउदले गरिब घरपरिवारको सूचीमा नाम समावेश भएका सरकारी कर्मचारी र जनप्रतिनिधिले गरिब परिचयपत्र बुझेको दाबी गरे ।

सार्वजनिक गरेको सूचीअनुसार अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी ३ श्रेणीमा नामावली छुट्याएर परिचय पत्र बनाइएको छ ।

यो पढ्नु भयो ?