Ad Banner

काठमाडौंमा आजबाट रथजात्रा सुरु, सवारीसाधन प्रभावित हुने

काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएसँगै निश्चित रुटमा सवारी आवागमन प्रभावित हुने भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सुरु हुने रथजात्रा आजबाट सुरु हुँदैछ ।

चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुनेछ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ । अपराह्न चार बजे तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा तीन दिनपछि लगन पुगेर सम्पन्न हुनेछ ।

सवारी आवागमन सहज बनाउनको लागि काठमाडौं महानगरपालिकाले रथजात्राको रुट निर्धारण गरेको छ । रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।

चैत १५ गते रथलाई तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइन्छ । चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्यार्इन्छ । त्यस्तै, चैत १७ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा मनाउने परम्परा रहिआएको छ । यसको सुरुवात मल्लकालीन राजा यक्ष मल्लले गरेका हुन् ।

यो पढ्नु भयो ?