Ad Banner

स्वतन्त्र पार्टी कहिले जान्छ सरकारमा ?

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । त्यसका लागि नेपाली काँग्रेस बाहेक सबै दलबाट मन्त्री हुनेहरुको नाम प्रचण्डले पाइसकेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विहिबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको थियो ।

भागबण्डा टुङ्ग्याउन विहिबार विहान पनि सत्तारुढ दलहरुबीच छलफल चलेको थियो । छलफल रोक्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन गएपछि काँग्रेस लगायतका पार्टीहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री दिउँसो काठमाडौं फर्किएपछि पुनः दलहरुबीच छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिएको जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले बताएका छन् । उनले नै नेपाली काँग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जनता समाजवादीले २–२ र अन्य पार्टीहरु १–१ मन्त्रालय दिने सहमति भएको जानकारी दिए । “कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ । त्यसलाई संस्थागतरुपमा निर्णय गरौँ भनिएको हो”, श्रेष्ठले भने ।

९ दलबीच भएको भागबण्डा अनुसार २२ वटा मन्त्रालय विभाजन हुनेछन् । बाँकी रहेको ३ वटा मन्त्रालय भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई छुट्याइएको छ । हालका लागि ती मन्त्रालय प्रधानमन्त्री आफैँसँग राख्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र पार्टीलाई अहिले नै सरकारमा आउन आग्रह गरेका थिए । रास्वपाले भने पार्टी सभापतिको नेतृत्वमा सरकारमा सहभागी हुने जानकारी गराएको थियो । सो विषयमा बुधबारको ९ दलीय बैठकमा छलफल समेत भएको थियो । तर दलहरु सांसद नरहेका रास्वपा सभापति रवि लामिछानेलाई मन्त्री बनाउन नहुने निश्कर्षमा पुगे । लामिछाने बाहेकका व्यक्तिहरुलाई मन्त्रीमा सिफारिस गर्न गरिएको आग्रह रास्वपाले नमानेपछि उसको लागि भाग छुट्याएर मन्त्रालय विभाजन गरिने जनाइएको छ । गृहमन्त्रीबाट पदमुक्त भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले उपचुनावपछि मात्रै आफू सरकारमा सहभागी हुने बताएका थिए ।

सरकारमा हुने सहभागिताका विषयमा पार्टी सभापति रवि लामिछाने समेत अन्यौलमा परेका छन् । उनी अरु नेताको नेतृत्वमा सरकारमा जान अनिच्छुक छन् । आफू नेतृत्वमा भर्खरै जान अरु दलहरुको असहमति र पत्रकार सम्मेलनको आफ्नै वाचा तथा शुभेच्छुकहरुको दबाबका कारण लामिछाने विलखबन्दमा परेका छन् ।

यसरी हेर्दा रास्वपा बैशाख १० गते हुने उपनिर्वाचन अघि सरकारमा सहभागी हुने देखिँदैन । २५ दिनपछि हुने उपचुनावमा लामिछाने विजयी हुने र पुनः गृहमन्त्रीसहित ३ मन्त्री सरकारमा सहभागी हुने गरी रास्वपाले तयारी थालेको छ ।

यो पढ्नु भयो ?