Ad Banner

उपनिर्वाचन हुने तीन क्षेत्रमा मनोनयन दर्ता, एकअर्काप्रति कटाक्ष गर्दै बोले नेताहरु

साझा कथा । बैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनको लागि बारा २, चितवन २ र तनहुँ १ मा उम्मेदवारी दर्ता भएको छ । मनोनयन दर्ता गर्ने नेताहरुले आफूले सो क्षेत्रमा सहजै जीत हासिल गर्ने दाबी गरेका छन् ।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीको तर्फबाट शिवचन्द्रप्रसाद कुशवाहा, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल मनोनयन दर्ता गराएका छन् । राप्रपाका सोनेलाल यादव तेलीले पनि उम्मेदवारी दर्ता गराएका छन् । अरु साना दलले पनि उम्मेदवारी दिएका छन् । बारा २ मा सत्तारुढ दलहरुको गठबन्धन छ । नेपाली काँग्रेसले यादवलाई समर्थन गर्ने निर्णय गरिसकेको छ भने माओवादीले पनि यादवलाई समर्थन गर्ने देखिएको छ । एमाले उमेदवार पौडेलले भने गठबन्धन भन्दा आफू बलियो रहेको दलील पेश गरे । उनले भने, ‘गठबन्धन नेताहरुबीचको हो । जनताको बीचको होइन’, उनले भने, ‘नेपाली जनता राष्ट्रियताको संरक्षण चाहन्छ, लोकतन्त्रको सुद्दृढीकरण, देशको विकास निर्माणको नेतृत्व चाहन्छ । एमाले यो गरेर देखाइसकेको छ । त्यसैले बारा–२ मा एमालेले जित्छ ।’

चितवन २ को उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका नेता जितनारायण श्रेष्ठ र नेकपा एमालेका नेता रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ता गर्दै रवि लामिछानेले आफ्नो उम्मेदवारी सुन्दर देश बनाउनका लागि र आउँदो पुस्ताको लागि भएको उल्लेख गरे । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दै सुन्दर भविष्य कोर्नका लागि आफु फेरि उम्मेदवारको रुपमा आएको भन्दै दोहोर्याएर उमेदवार बन्नुपर्दा अनौठो लागेको उनले बताए । उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै काँग्रेस नेता श्रेष्ठले आफूलाई संसदमा पुर्याउनका लागि उपचुनाव हुन लागेको जिकिर गरे । आफ्ना प्रतिस्पर्धी रवि लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए । उनले भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’ चितवन–२ मा राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ ।

श्रेष्ठको मनोनयन दर्ता गराउन पार्टी महामन्त्री विश्वप्रकाश शर्मा चितवन पुगेका थिए । उनले कांग्रेसले स्वर्णिम वाग्लेलाई यहाँसम्म पुग्न मञ्च दिएको भएपनि अन्तिम छाडेर हिँडेको उल्लेख गरे । उनले भने, ‘काँगेसले उहाँलाई मञ्च दियो । कविता भन्न जान्दछु भन्दा कविता भन्न दियो, गीत गाउन जान्दछु भन्दा गीत गाउन दियो । नाच्न पनि जान्दछु भन्दा पख्नु न पालो आउँछ बिस्तारै भन्यो, त्यसो भन्दा उहाँले कांग्रेस माथि नै प्रश्न गर्नुभयो । यसबाट थाहा हुन्छ उहाँ कति सुसंस्कृत हुनुहुँदो रहेछ ।’

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको लागि ९ दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट यसअघि काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङ, नेपाली कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी  दर्ता गराएका छन् । यहाँ त्रीपक्षीय भिडन्त हुने देखिएको छ । एमाले, काँग्रेस र स्वतन्त्र पार्टीका तीन उम्मेदवार नै बलिया उम्मेदवार हुन् । काँग्रेसका पुराना नेताहरु र यसअघि वागी उम्मेदवारी दिएका नेताहरु वाग्लेको पक्षमा खुलेका छन् ।

उम्मेदवारी दिँदै वाग्लेले अब मुलुकको अर्थतन्त्र सामान्य झारफुकले होइन, सर्जरी नै गरेर सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसको लागि आफ्नो उम्मेदवारी रहेको उनको प्रष्टीकरण थियो । नेपाली काँग्रेसका तर्फबाट भट्टराईको उम्मेदवारी दिने कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापा पनि पुगेका थिए । उनले वाग्लेप्रति धेरै कटाक्ष गरे । घुम्दैफिर्दै आउने पर्यटक उम्मेदवारलाई भोट नदिन बरु सोहि क्षेत्रका पूर्व सांसद रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको गुण तिर्न काँग्रेसलाई मत दिन उनले आव्हान गरे ।

यो पढ्नु भयो ?