साझा कथा । सर्लाहीको बागमतीमा १८ करोडको लागतमा व्यवस्थित आर्यघाट निर्माण गर्न सुरु गरिएको छ । अन्तिम संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभाबी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट बनाउन लागेको हो ।
नगरपालिकाले आफ्नो आन्तरिक स्रोत तथा सङ्घ र प्रदेश सरकारबाट पनि सहयोग लिएर आर्यघाट निर्माण गर्न लागेको बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । छिमेकी पालिका हरिवन नगरपालिकाले समेत आर्यघाट निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उपप्रमुख मोक्तानले बताए ।
आर्यघाट निर्माणका लागि पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स प्रालि बत्तिसपुतली, काठमाडौँले भ्याटसहित १८ करोड १४ लाख २९ हजार ५८ रुपियाँ ४१ पैसामा ठेक्का सकार गरेको बागमती नगरपालिका कार्यालयले जनाएको छ । २०८१ साल असोज २१ गतेभित्र आर्यघाट निर्माण सक्ने गरी सम्झौता भएको छ ।
आर्यघाटमा क्रियापुत्री बस्ने स्थल, पितृ प्रसाद पकाउने र ग्रहण गर्ने ठाउँ, महादेवको मूर्तिसहितको मन्दिर, फूलबारीलगायत अन्य संरचना निर्माण हुने बताइएको छ ।
जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवालगायत पालिकाबाट पार्थिव शरीर अन्तिम संस्कारका लागि बागमती पुर्याउने गरिएको छ ।