साझा कथा । उपचुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दबाबमा परेका छन् । पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन २ करोड चाहिएको र त्यो रकम दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग गरिएको आग्रह सहितको अडियो सार्वजनिक भएपछि लामिछाने दबाबमा परेका हुन् । लामिछानेका विरोधीहरुले उपचुनाव र उनको प्रतिष्पर्धालाई प्रभाव पर्ने गरी प्रचारप्रसार गरिरहेका छन् । सांसद श्रेष्ठले प्रत्यक्ष रुपमा रविले रकम माग नगरेको बताए पनि उनका विरोधीहरुले आक्रामक प्रचारप्रसार गरिरहेका छन् । चितवन २ मा बैशाख १० गते उपचुनाव हुँदै छ, जहाँ रवि लामिछाने प्रतिष्पर्धी छन् ।
अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो ।
अडियोमा सांसद श्रेष्ठले भनेका छन्..
स्वास्थ्य हामीले पाउने भयो । पार्टीले सहयोग गर भन्यो । कोर टीम छ दुई–तीन जनाको । उनीहरूले भनिरहेका छन् । मलाई साढे दुई जति चाहियो भन्दै थिए हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज मैले फिक्स गर्नु छ के दाइ, सर ।
त्यसपछि व्यवसायी प्रसाईँले भनेका छन्..
बीमा कसरी लागू गर्ने म भनिदिन्छु तपाईंलाई । तपाईं के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले दुई करोड दिने भए तपाईंलाई । यो पैसा तपाईंले पनि भोलि–पर्सि रविलाई त दिने होला ?
ढाकाकुमार श्रेष्ठ : अँ, मैले रवि सरलाई भन्दा पनि रवि सर देखापर्नु भएको छैन । बाहिरका दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीमा जान्छ भनेका छन् ।
दुर्गा प्रसाईं : यी सबै कमाउने त हुन भाइ ।
ढाकाकुमार श्रेष्ठ : पार्टीमा जान्छ कि जाँदैन मलाई थाहा छैन । मैले सोचेको छैन । पार्टी कमजोर छ । सुरुवाती छ भनेका छन् । साह्रै गाह्रो भएको छ भनेका छन् ।
दुर्गा प्रसाईं : ल सर ठीकै छ । म एक–दुई दिनमा आउँछु । दाजुभाइ भेटौँला नि । म दिन्छु भनेर ग्यारेन्टी गर्नुहोस् । मलाई अलिकति टाइम चाहियो भन्नुहोस् ।
पैसा दिने सहमति भएपनि रकम लेनादेना भएको नभएको बारे केहि खुलेको छैन ।