काठमाडौंमा नसकेको रात्रि बजार वीरगञ्जमा सम्भव होला ?

साझा कथा । भविष्यमा २४ सै घण्टा रात्रि बजार खुलाउने योजनासहित वीरगञ्ज महानगरपालिकाले ३ दिनको लागि रात्रि बजार सञ्चालन गर्न लागेको छ ।

नयाँ वर्षको उपलक्ष्यमा वीरगञ्ज-रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला गर्न लागेको हो । यो वीरगञ्ज महानगरपालिकाको लागि पहिलो काम हो । राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिँदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगञ्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको रात्रिकालीन बजारका लागि वीरगञ्ज नाका चौबिसै घण्टा खुला गर्नेछ ।

सो बारेमा जानकारी दिँदै नगर प्रमुख सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो । उनका अनुसार यो तीन दिने कार्यक्रमले वीरगञ्जलाई दीर्घकालीन रूपमा रात्रि बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न भन्ने बारेमा मार्गचित्र दिनेछ ।

यस अघि देशको राजधानी काठमाडौंलाई २४ सै घण्टा खुलाउने योजनासहित विभिन्न पटक छलफल र प्रयास गरिए पनि सम्भव भएको छैन । रात्रिकालीन समयमा हुने आपराधिक घटना र सुरक्षा चुनौतिका कारण काठमाडौंलाई २४ सै घण्टा खुला गराउन सकिएको छैन । विशेषतः ठमेल, भक्तपुर, झम्सिखेल, पाटनजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुने क्षेत्रलाई व्यवसायीहरुकै पहलमा २४ सै घण्टा खुलाउने प्रयास भएको थियो ।

यो पढ्नु भयो ?