साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा तीन तलाबाट खसेपछि लामिछानेका चुनावी प्रचारका कार्यक्रम प्रभावित भएका छन् । लामिछानेले सोमबार बारामा गर्ने भनिएका चुनावी प्रचारका कार्यक्रममा सहभागी हुने पूर्वनिर्धारित तालिका रद्द गरेका छन् । चितवन–२ मा रास्वपाबाट उम्मेदवार बनेका लामिछानेले आफ्नो सवारी चालक घरको छतबाट लडेर गम्भीर घाइते भएपछि बारा जाने कार्यक्रम स्थगित गरेका हुन् ।
थापाको उपचार भइरहेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पुगेका लामिछानेले आजका कार्यक्रम रद्द गर्न निर्देशन दिएका छन् । बारा–२ मा रास्वपा उम्मेदवार रमेश खरेल र लामिछानेले ७ ठाउँमा कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम आजका लागि तय भएको थियो । सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।
तीन तलामाथिबाट खसेर अचेत अवस्थामा रहेका थापाको घाँटीको हड्डी भाँचिएको छ । सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चालक थापासँगै सुतेका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालका चालक कालुराम राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि छानविन गर्न पक्राउ गरिएको हो ।