साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेललाई केहि समय अगाडिदेखि ग्यास्ट्रिकको समस्या थियो । ग्यास्ट्रिकको समस्याले सताएपछि ६ दिन अघि मात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए।
तर, स्वास्थ्य समस्या बढेको पाइएपछि उनलाई मंगलबार बिहान शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । जहाँ शिक्षण अस्पतालका चिकित्सक मात्रै होइन, नर्भिक अस्पतालका चिकित्सकहरु समेत पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षण गरिएको थियो । सो परीक्षणपश्चातको रिपोर्ट हेर्दा चिकित्सकहरुले समस्या गम्भीर खालकै देखे । र उनीहरुबीचको परामर्शपछि पौडेललाई भारत लगेर उपचार गराउनुपर्ने सुझाव आयो ।
चिकित्सकहरुको सल्लाह अनुसार राष्ट्रपति पौडेललाई आज (बुधबार) भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । उनलाई अघि श्री एयरलाइन्सको जहाजमार्फत भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लगिएको छ । राष्ट्रपति पौडेललाई विदाई गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।