अत्याधिक महत्व बोकेको उपचुनाव, कहाँ कसको पल्ला भारी ?

रामकृष्ण शर्मा
पोखरा बस्ने एक हुल महिलाहरु तनहुँको डुम्रे आए । उनीहरुको माइती हो डुम्रे । तर उनीहरु त्यहाँ आउनुको कारण भने अर्कै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा मतदान गराउनका लागि आफ्ना माइतीलाई फकाउन उनीहरु त्यहाँ आएको उनीहरुले नै बताएका छन् (तस्बिरमा हेर्नुहोस्) । नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलका प्रभावशाली नेताहरु तनहुँ १ मा अड्डा जमाएर बसिरहेका छन् । प्रधानमन्त्री समेत पुगेर त्यहाँ गठबन्धनका उम्मेदवारलाई भोट मागेर फर्किएका छन् ।

चितवनबाट वैदेशिक रोजगारीमा गएका युवायुवतिहरु आफ्नो घरमा फोन गरेर स्वतन्त्र पार्टीलाई भोट दिन फकाइरहेको र आग्रह गरिरहेका भिडियोहरु पनि सामाजिक सञ्जालमा छरपस्ट भइरहेका छन् । चितवन २ मा पनि काँग्रेस, एमाले र माओवादीका केन्द्रीय नेताहरुको ओइरो लागेको छ । यसअघि आमसभामा मात्रै रमाउने उनीहरु अहिले टोल टोलमा, घरघरमा पुगेर भोट मागिरहेका छन् । आमचुनाव भन्दा अहिलेको उपचुनावलाई उनी बढी महत्व दिइरहेका छन् ।

बारा २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत जो मधेसमा आफ्नो उपस्थितिलाई दमदार द्ेखाइरहेका छन्, उनी आफै उम्मेदवार भएजसरी उपचुनावमा खटिरहेका छन् । सामाजिक सञ्जाज, मतदाताको ढोका ढोका पुग्ने अभियानदेखि सूचना प्रविधिको उच्चतम प्रयोग गरेर जनमत पार्टीले भोट मागिरहेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष आफैँ उम्मेदवार भएको क्षेत्रमा काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका पार्टीका नेताहरुले चर्को गर्मी नभनी दौडधुप गरिरहेका छन् ।

यी तीनवटा दृश्यले देखाउँछ, २०८० सालको बैशाख १० गते बारा, चितवन र तनहुँका एक–एक वटा निर्वाचन क्षेत्रमा हुन गइरहेको उपचुनावलाई पार्टी, नेता र कार्यकर्ता मात्रै होइन, जनताको स्तरबाट पनि कति महत्व दिइएको छ । समग्रमा भन्दा यो उपचुनाव महासंग्राम भएको छ ।

यसअघि पनि नेपालमा थुप्रै उपचुनावहरु भए । थुप्रै उम्मेदवार उठे, तर प्रसारप्रसार सामान्य नै हुन्थ्यो । एकजनालाई जित्थे अनि सकिन्थ्यो कथा । तर २०८० सालको बैशाख १० गतेको उपचुनाव बेग्लै बनेको छ । बैशाखको धुपमा चुनावको सरगर्मी यति बढेको छ कि हेर्नेहरुलाई रौनकता त छँदैछ, पार्टी र उम्मेदवारहरुलाई प्रतिष्ठाको लडाइँ बनेको छ । नेपालको इतिहासमै यति धेरै महत्व बोकेको उपचुनावमा कसको पल्ला भारी हुन्छ भन्ने कौतुहलता पनि व्याप्त छ ।

सम्पूर्ण शक्ति परिचालन गरेर यो उपचुनावलाई ती दलहरुले महासंग्राम बनाएका छन् ।

यो उपनिर्वाचनमा माओवादी केन्द्र र अरु साना दलबाहेक नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भएभरको शक्ति खर्च गरिरहेका छन् । सम्पूर्ण शक्ति परिचालन गरेर यो उपचुनावलाई ती दलहरुले महासंग्राम बनाएका छन् ।

काँग्रेस, माओवादी लगायतका ५ दलीय गठबन्धनका तर्फबाट चितवन २ र तनहुँ १ मा काँग्रेस उम्मेदवारहरु मैदान उत्रिएका छन् । चितवनमा २ मा सो क्षेत्रमा राम्रोसँग भिजेका तथा स्थानीय नेता जीतनारायण श्रेष्ठ उम्मेदवार छन् भने तनहुँ १ मा पनि स्थानीय जनतासँग लामो समय उठबस गरिरहेका गोविन्द भट्टराई उम्मेदवार छन् । उनीहरुको स्थानीय जनतासँगको उठबस र स्थानीय मुद्दामा उनीहरुले गरेको योगदान हेर्ने हो भने अरु सामान्य चुनाव हुन्थ्यो भने उनीहरुले सहजै जित्न सक्थे । अझ ५ दलीय गठबन्धनको भरपुर फाइदा उनीहरुलाई हुन्थ्यो तर अहिले उनीलाई आच्छुआच्छु भएको छ । केहि मिडिया रिपोर्ट र स्थानीय जनताका प्रतिक्रियाहरु हेर्दा लाग्छ उनीहरुको मेहनत खेर जान सक्छ । नेपाली काँग्रेस र एमालेका उम्मेदवार तथा नेताहरुले चुनावी कार्यक्रममा अधिकाँश समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै आलोचना गरेर समय खर्च गरिरहेको दृश्य हेर्दा स्वयं पार्टी र उम्मेदवारहरु नै सम्भावित नजिताबारे संशकित छन् । चितवन २ मा मंसिर ४ को चुनावमा सर्वाधिक मतान्तरले जितेका लामिछानेले आफ्नो विगतको मत सुरक्षित राख्दा मात्रै पनि उनले जित्छन् तर उनको दौडधुप र मेहनत हेर्दा उनी विगतको आफ्नै रेकर्ड तोड्ने दाउमा छन् । चितवन २ का स्थानीयबासिन्दामा उनको क्रेज अझै कायमै देखिन्छ, भने चुनावचिन्ह घण्टीप्रतिको मनोविज्ञानमा बदलाव आएको छैन । सँगै १ महिना गृहमन्त्री हुँदा लामिछानेलाई काम गर्न नदिइएको र नागरिकता मुद्दामा फसाइएको न्यारेटिभ तयार पारेर सेन्टिमेन्ट क्यास गर्दै स्वतन्त्र पार्टीले भोट मागिरहेको हुनाले उनको पल्ला भारी हुने देखिन्छ ।

तनहुँ १ मा यसअघि काँग्रेस आवद्ध बौद्धिक व्यक्ति तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य दलका उम्मेदवारलाई ठूलै धक्का दिइरहेका छन् । सामाजिक सञ्जाल र स्वयं त्यहि क्षेत्रमा जनताहरुको स्वतस्फूर्त भइरहेको जनपरिचालन हेर्दा उनको पल्ला भारी हुने देखिन्छ ।

नेकपा एमालेका तर्फबाट पनि चितवन २ र तनहुँ १ मा कमजोर उम्मेदवार छैनन् । पूर्व प्रहरी अधिकारी सर्वेन्द्र खनाल तनहुँ १ मा उठ्दै गर्दा चितवन एमालेका चर्चित नेता रामप्रसाद न्यौपाने चितवन २ मा उम्मेदवार छन् । सायद काँग्रेस र एमालेबीच मात्रै प्रतिष्पर्धा हुन्थ्यो भने उनीहरुले काँग्रेसको भन्दा अलिकति बढी मेहनत गर्दा मात्रै पनि पल्ला भारी हुने सम्भावना हुन्थ्यो तर अहिले एकातिर गठबन्धनको बल र अर्कोतिर स्वतन्त्र पार्टीका ख्यातिप्राप्त उम्मेदवारको ओज बढिरहेको हुनाले एमाले आक्रामक हुन छोडिसकेको छ ।

बारा २ मा गठबन्धनको तर्फबाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव नै मैदानमा छन् । यसअघि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष तथा मधेसमा जबर्जस्त उपस्थिति देखाइरहेका सिके राउतसँग पराजित यादव फेरि संसद छिर्ने बाटो खोज्दै बारा २ पुगेका छन् जहाँ जसपाको बलियो पकड छ । तर उनलाई हम्मेहम्मे परिरहेको छ । कारण हो यसअघि उनलाई हराएका सिके राउत नै त्यहाँ दिनरात खटिरहेका छन्, यसअघि उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग झिनो मतान्तरले हारेका शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएर ।

राउतका उम्मेदवार कुशवाहको लोकप्रियता र जनमतले गरिरहेको आक्रामक प्रचारबाजीका कारण यादवलाई आच्छुआच्छु पारेको छ । चुनावी कार्यक्रममा उनी पसिनाले निथु्रक्क भिजेका देखिन्छन् भने अनुहार भावमा निचोरिएका देखिन्छन् । यसले पनि भावी नतिजाको संकेत देखाउँछ ।

२०६४ पछि मधेसमा एकछत्र राज गरेका उपेन्द्र यादवलाई टक्कर दिने र उनको वर्चश्व उल्ट्याउने गरी सिके राउतले काम गरिरहेका छन् र मंसिर ४ को चुनावमा यादवलाई हराएर उनले अब मधेसमा आफ्नो वर्चश्व हुने सन्देश दिइसकेका छन् । आम चुनावमा उनले प्राप्त गरेको समानुपातिक मतले पनि त्यहि संकेत गर्छ । राउतका उम्मेदवार कुशवाहको लोकप्रियता र जनमतले गरिरहेको आक्रामक प्रचारबाजीका कारण यादवलाई आच्छुआच्छु पारेको छ । चुनावी कार्यक्रममा उनी पसिनाले निथु्रक्क भिजेका देखिन्छन् भने अनुहार भावमा निचोरिएका देखिन्छन् । यसले पनि भावी नतिजाको संकेत देखाउँछ ।

बहुदलपछि प्रमुख राजनैतिक दलहरुको तर्फबाट जनताका मुद्दा सम्बोधनका लागि गर्नुपर्ने डेलिभरी अपेक्षाकृत नभएकै कारण जनताहरुमा एकखालको वितृष्णा फैलिएको थियो । त्यो वितृष्णा स्थानीय तहको चुनाव हुँदै आम चुनावसम्म पोखिसकेको छ । यो उपचुनावको माहौल, स्थानीय मतदाताहरुले सामाजिक सञ्जालमा व्यक्त गरेको विचार, निर्वाचन क्षेत्रमा भइरहेको स्वतःस्फूर्त जनपरिचालन र केहि मिडिया रिपोर्टहरु विश्लेषण गर्दा २ क्षेत्रमा स्वतन्त्र पार्टी र बारामा जनमत पार्टीले बैशाख १० गते ठूला भनिएका पार्टीहरुलाई ठूलै धक्का दिने देखिन्छ ।

यो पढ्नु भयो ?