Ad Banner

तीन क्षेत्रमा उपनिर्वाचन – मतदान जारी

साझा कथा । आज बैशाख १० गते आइतबार, प्रतिनिधिसभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । उपनिर्वाचन भइरहेका सबै क्षेत्रका मतदानस्थलहरु सुरक्षा कडा पारिएको छ ।

चितवन क्षेत्र नं २ मा ४३ मतदानस्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।

जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।

यस्तै तनहुँ क्षेत्र नं १ मा पनि बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे । यहाँ उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता छन् ।

बारा क्षेत्र नं २ मा पनि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए ।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनिहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । ती मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

यो पढ्नु भयो ?