साझा कथा । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो ।
विमानस्थलबाट उडान भरेलगत्तै एफ्जेट ५७६ उडान नम्बरको ‘बोईङ७३७–८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालकले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए ।
फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इञ्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौँ विमानस्थलको टावरलाई जहाजको बायाँ इञ्जिनमा आगलागी भएको जानकारी दिएका थिए । उक्त जहाजको सबै इण्डिकेटरको चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए । विमानस्थलको टावरका एटीसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए ।
जहाजले नियमित उडान गरेर दबईको ‘दुबई इन्टरनेशनल एयरपोर्ट’ मा सकुशल अवतरण पनि गर्यो । नेपाली समय अनुसार राति २ बजे उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो । उक्त जहाजमा एक सय ६८ यात्रु सवार थिए ।
यसरी जहाजमा विमानस्थलबाट उड्नेवित्तिकै ठूलो आगोको मुस्लो निस्किएको विषय अझै जनमानसमा कौतुहलताको विषय बनिरहेको छ । फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन् ।
जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ । यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन् ।
यसै सन्दर्भमा लामो समय जहाजको मर्मत सम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताए । उनले भने, “फ्लाई दुवईको जहाजमा भएकोजस्तो घटना सामान्य हो, यसमा अत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेको थियो । विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो । तर, यस पटक भने चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो । अनुसन्धान नगरी थप बोल्न मिल्दैन ।”
नेपाल वायु सेवा निगमका एक वरिष्ठ पाइलटका अनुसार कुनैपनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यानन्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ । त्यसअनुरुप ‘चेकलिष्ट फलो गरिन्छ’ त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ । “जहाजको इञ्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ । यदि चरा छिरेको रहेछ भनेपनि त्यो आगो भएर बाहिर निस्कन्छ । कपपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्”, उनले भने, “जहाजको इञ्जिनलगायत कुनैपनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्स’ अनुरुप ‘चेकलिष्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ । रिस्कको प्यारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन् ।”
निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इञ्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो चरा वा कुनैपनि सामान इञ्जिनभित्र पसेर हुन्छ भने अर्को जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर वा इञ्जिनकै प्राविधिक समस्या भएर आगो निस्कन्छ’ । इञ्जिनियर श्रेष्ठ भने इञ्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने बताउँछन् ।
उनका अनुसार जहाजको इञ्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विष्फोट गराउन सक्छ । “सानो कागज मात्रै पनि इञ्जिनमा परेमा पड्किन्छ । कम्प्रेसरबाट हावा आवश्यकता अनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ”, श्रेष्ठले भने । जहाज उड्ने वित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा जहाज ‘थर्थराउछ’ र पूरै हल्लिन्छ । यस्तो अवस्थामा इञ्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उनको भनाइ छ ।
हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विष्फोटको आवाज आएको विज्ञहरुको अनुमान छ । विज्ञका अनुसार जहाजको इञ्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ । आगोले नै इञ्जिनलाई पावर दिनु सामान्य कुरा हो । यस्तो बेला पाइलटले होसियारी अपनाउनुपर्छ ।
उडिरहेको जहाजको इञ्जिन खराब भएको भए काठमाडौँ विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो । जहाजको सबै ‘पारामिटर नर्मल’ भएमा उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ । यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ ।
पाइलटले होसियारीपूर्वक पारामिटरको चेकजाँच गरेपनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ । जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्नसक्ने श्रेष्ठको भनाइ छ ।

