Ad Banner

लुम्बिनीमा आलोपालो सरकार, पहिलो चरणमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री

साझा कथा । केन्द्र सरकारको आयुको विषयमा चर्चा भइरहँदा लुम्बिनी प्रदेशमा नयाँ सरकार बन्दै छ । नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको कसरत भइरहेको छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकार चलाउने सहमति भएसँगै लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नेपाली कांग्रेसका नेता डिल्ली चौधरी बन्ने भएका छन् । गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबीच मुख्यमन्त्रीमा आधाआधा कार्यकाल आलोपालो गर्ने लिखित सहमति गरेर पहिलो चरणमा कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गरेर आज विहिबार दाबी पेश हुँदैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेसम्ममा संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्ने समय दिएका छन् । त्यो भित्रै सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी मिलेर चौधरीलाई मुख्यमन्त्री गराउने गरी दाबी पेस गर्न लागेका हुन् ।

माओवादीले लिखित सहमति गरेर कांग्रेसलाई पहिलो चरणमा मुख्यमन्त्री दिएपछि आफूहरुले ४ मन्त्रालय पाउनु पर्ने दाबी गरिरहेको छ । कांग्रेसले भने ३ मन्त्रालय मात्र प्रस्ताव गरेको छ ।

माओवादीले एमालेसँग गठबन्धन गरेर सरकार बनाउँदा आर्थिक मामिला, भौतिक पूर्वाधार र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लिएको थियो । अहिले भने कांग्रेस ३ मन्त्रालय दिने विषयमा तयार भएपनि मन्त्रालय कुन भन्ने विषयमा सहमति बनिसकेको छैन । उनीहरुले मन्त्रालय भागबण्डामा पनि केन्द्रको निर्णय कुरिरहेका छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त हुने र शुक्रबार शपथ लिएपछि मन्त्रिपरिषद् विस्तारबारे कुराकानी हुनेछ ।

यो पढ्नु भयो ?