साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट मंगलबार एउटा पत्र सार्वजनिक भयो । पत्रमा लेखिएको छ – ‘राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहनु भएको छ ।’
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको बताइएको छ । उपचार खर्चका सम्बन्धमा नागरिक चासो बढेपछि सचिवालयबाट सार्वजनिक गरिएको पत्रमा चाहनाको कुरा आउनु पर्ने हो कि निर्णय नै गर्नु भयो भनेर आउनु पर्ने हो ? चाहना गर्नु आशयको पत्रबाट निर्णय नै भयो भन्ने हो भने ठीकै छ तर चाहना मात्रै हो भने यो पत्र केवल आम नागरिकको आँखामा छारो हाल्ने प्रयास मात्रै हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको सम्पत्ति कति छ भन्ने तिर नजाऔं । तर, उनी आफूलाई लागेको रोग आफ्नै खर्चमा गराउन नसक्ने हैसियतका भने पक्कै छैनन् । नेपालमै सम्भव हुने उपचारमा पनि नेपाल सरकारको सुविधा लिएर विदेशमा उपचार गराउन पुग्ने नेता र पदासिन व्यक्तिहरुको पंक्तिकाबीच यो कारणले रामचन्द्र पौडेल कुनै फरक भएनन् । जुन उनी राष्ट्रपति भए लगत्तै सडक खाली गराएर हिड्ने परम्पराको अन्त्य गराएर लोकप्रियता हासिल गरेका थिए ।
कतिपय नागरिकहरु उपचार नपाएर वा गराउन नसकेर अकालमा ज्यान गुमाएका, अस्पतालमै बन्दी भएका, उपचार खर्च जुटाउन बाटोबाटोमा पैसा माग्न हिडेका घटनाहरु त हामीले देख्दै र सुन्दै आएका नै छौं । त्यस्ता व्यक्तिहरुलाई राज्यले गर्नुपर्ने सहयोग र बोक्नुपर्ने दायित्वका विषय नेपालमा धेरै परको कुरा हो । तर, विशिष्ठ व्यक्तिहरुको उपचारका नाममा देशले अर्बौ खर्च गरिसकेको छ । चाहे एमाले अध्यक्ष केपी शर्मा ओली हुन् या एकीकृत समाजवादीका नेता झलनाथ खनाल । चाहे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ हुन् या पूर्व राष्ट्रपति डा. रामवरण यादव । उनीहरुमध्ये कोहि पनि आफ्नो उपचार खर्च व्यहोर्न नसक्ने होइनन् । तर उनीहरुले राज्यकोषबाट करोडौैं लिएका छन् ।
तिनै नेता र विशिष्ठ व्यक्तिहरुको सूचीमा थपिएका छन् राष्ट्रपति रामचन्द्र पौडेल । उपचार खर्चका विषयमा व्यापक जनगुनासो आएपछि जारी गरिएको विज्ञप्तिमा भने गोलमटोलको भाषा प्रयोग गरेर जनतालाई झुक्याउन खोजिएको छ । “राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उनको भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार भएको थियो ।
साँच्चिकै उपचार खर्च राष्ट्रपति आफैँले व्यहोर्न खोजेका हुन् भने विज्ञप्तिमा सिधै व्यहोरिनेछ लेख्न सकिन्थ्यो तर चाहेको लेखेर आफैँ व्यहोर्न खोजेपनि सरकारले तिरिदियो भनेर टार्नका लागि यो भाषा प्रयोग गरिएको बुझ्न कठिन छैन । राष्ट्रपति जस्तो संस्थाले सिधै घोषणा गर्न नमिल्ने कुनै कानूनी व्यवधान त थिएन होला ?
राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए । उनी उपचारपछि वैशाख १७ मा स्वदेश फर्किएका छन् । यसअघि, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारमा भएको खर्च आफै व्यहोर्न अनुरोध गरेका थिए ।

