साझा कथा । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट बुधवार पक्राउ पुर्जी लिएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको बताएका छन् । यसअघि पक्राउ परेकाहरुले ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएपछि उनीहरुलाई पक्राउ पुर्जी जारी गरिएको हो ।
यही काण्डमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनले भने, “नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा सचिव पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।” पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए ।
त्यस्तै, सोही प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो ।