Ad Banner

किन थन्कियो वीरगञ्ज भन्सारमा हजारौं नयाँ सवारी साधन ?

साझा कथा । आयातकर्ताले जाँचपास गराएर नलगेपछि करिब दुई हजार सवारीसाधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् ।

बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् ।

आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले बताए । भारतबाट आयात भएर आएका साना र ठूला गरी एक हजार नौ सय नौ सवारी साधन भन्सारमै थन्किएका छन् । आयात भएका कार/जीप छ सय २९, बस ३४, ट्रकका चेचिस आठ सय ४४, नयाँ चेचिस तीन सय ८६ र ट्रयाक्टर १० भन्सारमा थन्किएका छन् ।

सवारी साधन थन्किनुको प्रमुख कारण राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दी भएको प्रमुख पन्थीको भनाइ छ । “आयातकर्ताले आयात गरेर त ल्याउनुभयो, तर बजारमा सवारी साधनको खासै माग छैन, त्यसैले उहाँहरुले जाँचपास गराएर सवारी साधन लैजान चासो देखाउनु भएको छैन”, उनले भने ।

आयातकर्तालाई गाडी छिटो लैजान र आर्इसीपीमा ठाउँ खाली गरिदिन आग्रह गर्दै आए पनि थोरै थोरै गरेर मात्र गाडी भन्सार जाँचपास गरेर लगिरहेको प्रमुख पन्थीले बताए । सरकारले विलासिताको वस्तु आयातमा रोक लगाएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आवको हालसम्ममा रु. दुई खर्ब चार अर्ब ९१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत अर्थात् रु. एक खर्ब २२ अर्ब ५७ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ पनि गरिएकाले राजस्व सङ्कलन घटेको जनाएको छ ।

यो पढ्नु भयो ?