साझा कथा । आज (आइतबार) ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो ।
वरिष्ठ पत्रकारहरुले मुलुकको राजनीतिमा देखिएको अस्थिरताले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित तुल्याउने मामिलामा विविध चुनौती खडा गरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले राजनीतिमा देखिएको विकृति र विसङ्गति नसङ्लिएसम्म पत्रकारिता क्षेत्रले ती समस्याको लामै समयसम्म सामाना गरिरहनुपर्ने देखिएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय पत्रकारिता दिवसका सन्दर्भमा कुराकानी गर्दै वरिष्ठ पत्रकार खिलध्वज थापाले राजनीति र समाजसँगसँगै अहिले मुलुकको पत्रकारिताको प्रवृत्ति अघि बढिरहेको प्रतिक्रिया दिए । तत्कालीन पञ्चायत व्यवस्थाका समयमा धेरैले व्यवस्थाका विरुद्ध मिसन पत्रकारिता गरेको घटना सुनाउँदै थापाले प्रविधि र भौतिक सुविधाका हिसाबले अहिलेको नयाँपुस्ता भाग्यशाली भए पनि आर्थिक अभावले भोको पेटले काम गर्नुपर्ने चुनौती भने कायमै रहेको उल्लेख गरे ।
गुगलको युग भएकाले संसारका सूचना क्षणभरमै लिन सकिने परिस्थिति बनेकाले मिडियाकर्मीका लागि अहिले सूचना पाइएन, दुर्गम र टाढा भन्ने शब्द नै हराएर गएको छ । अनुशासित र मर्यादित पत्रकारितका लागि आवश्यक प्रशिक्षण र न्यूनतम पारिश्रमिकका लागि आन्दोलन गर्नुपर्ने अवस्थाले कक्षाको पढाइ र समाचार कक्षको अभ्यासबीच तालमेल नखाएको अवस्था विद्यमान छ ।
गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक निर्मलकुमार आचार्यले विगतको तुलनामा व्यावसायिक, तटस्थ, विश्वासनीयरूपमा अघि बढाउने प्रयास भए पनि कोसिसहरू अपुग र अपर्याप्त भएको हुँदा पुराना कमी–कमजोरी नै पनि पूर्णरूपमा हट्न नसकेको प्रतिक्रिया दिए ।
उनले भने, “व्यावसायिकताको हिसाबले मुलुकको पत्रकारिता क्षेत्र कखरामै छ, गति अघि बढ्न सकेको देखिन्न । पञ्चायतकालमा जोखिम भए पनि आफ्ना कुरा विभिन्न माध्यमबाट लेख्न सकिन्थ्यो । अहिलेको पत्रकारिता दलीय साँधुरो घेरामा बाँधिदै गएको र व्यावसायिक धर्म निर्वाहमा कमी भएको हो कि भन्ने महसुस हुन्छ ।”
देशको पत्रकारिता क्षेत्रमा नवीनतम् उपकरणको सहज पहुँच भए पनि गुणस्तरीय सामग्री प्रस्तुत गर्न तथा यस क्षेत्रको ओज, गरिमा कायम राख्ने सन्दर्भमा कमजोरी रहेको उनको टिप्पणी छ । कतिपय अवस्थामा व्यावसायिक मर्यादा र आचरण बाहिर गएर पत्रकारले डर, धम्की देखाउने गरेको घटना सुनाउँदै वरिष्ठ पत्रकार आचार्यले निष्पक्ष र तटस्थ पत्रकारितामा नलागेसम्म हामीमाथि औँला ठडिरहने बताए ।
विगतमा पत्रकार र पत्रकारिता भनेपछि समाजले हेर्ने सम्मानित दृष्टिकोण रहेकामा त्यो लयमा फर्काउन यस क्षेत्रमा क्रियाशील सबैले चेतनामा सुधार ल्याउन आवश्यक रहेको सुझाव दिइएको छ । पत्रकारले सबै मुलुकमा सुशासन, लोकतन्त्र र विधिको शासनको पक्षमा लाग्नुपर्नेमा त्यो नसकेपछि साँघुरोपन बढ्दै गएर व्यावसायिक पत्रकारितामा आघात पुर्याएको यस क्षेत्रका अगुवाको भनाइ छ ।
छिटो सूचना दर्शक, पाठक र स्रोतबीच पुर्याउने होडले सामाजिक सञ्जालले खडा गरेका चुनौतीको सामना गर्न गुणस्तरीयता वृद्धि गर्न आवश्यक रहेको जनाउँदै सञ्चारविज्ञहरुले सामाजिक सञ्जालका समाचारको विश्वासनीयताको प्रश्न उठेकाले त्यसबाट पार पाउन जरुरी रहेको प्रतिक्रिया दिएका छन् ।
प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले आर्थिक र प्रतिष्ठाको हिसाबले अहिलेको तुलनामा विगतको पत्रकारिता निकै राम्रो रहेको प्रतिक्रिया दिए । उनले भने, “अढाइ दशकअघि साप्ताहिकमा संवाददाताबाट पत्रकारिता सुरु गरेको हुँ । आर्थिक हिसाबले त्यही बेलाको सम्झना मीठो थियो । अहिले आफैँ पत्रिका निकाल्छु तर आर्थिक हिसाबले पनि चलाउन र धान्न सक्ने स्थिति छैन ।”