नेपाली नागरिकता लिने भारतीय कति होलान् ?

साझा कथा । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुले नागरिकता बनाउने टोली स्थलगत रुपमा खटिएको समयमा झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको छ । पक्राउ पर्नेहरु भारत बिहारका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपत्यकाको शङ्खमुल, कलङ्की, लगनखेल, गोङ्गवु लगायका स्थानमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरुको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ ।

१० जना भारतीय पक्राउ परेपनि तराईका जिल्लाबाट लाखौँले नेपाली नागरिकता लिएको जानकारहरुको भनाई छ । २०६३–६४ पछि नागरिकता वितरण गर्ने भन्दै गएको नागरिकता टोलीलाई फर्जी कागजपत्र देखाएर नागरिकता लिनेहरुको संख्या एकीन नभएपनि यस मामलाका जानकारहरुका अनुसार लाखौँ भारतीयहरुले नेपाली नागरिकता लिएका छन् ।

यस्तो नागरिकता प्राप्त गर्नेहरु नेपाली नागरिकका आफन्त, नातेदारहरु बढी छन् । साथै तराईका जिल्लामा निर्वाचनका बेला उपयोग गर्ने उद्देश्यले राजनैतिक व्यक्तिहरुको मिलेमतोमा यस्ता नागरिकता बाँडिएको जानकारहरुको भनाई छ ।

यो पढ्नु भयो ?