Ad Banner

शरणार्थी प्रकरणले ओली र देउवाको ओठमुख सुकाउँदै, लडाकु शिविर काण्डको फाइल कहिले खोल्ने ?

साझा कथा टिप्पणी
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ४ पटक भेटे । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कहिले फोन र कहिले प्रत्यक्ष भेटघाट गरिरहेका छन् । बैशाख २६ गते मंगलबार ति तीन नेताबीच झण्डै २ घण्टा संयुक्त छलफल भयो । छलफलको विषय गोप्य राखेका उनीहरुले पछिल्लो समय जोडतोडका साथ उठिरहेको नक्कली शरणार्थी प्ररकणकै विषयमा कुराकानी गरेको उनीहरु निकट व्यक्तिहरुले बताइरहेका छन् ।

मुख्य ठूला दल कांग्रेस र एमालेका जिम्मेवार नेताहरु समेत जोडिने र अनुसन्धानमा तानिने अवस्था देखेपछि शीर्ष भेटघाट बाक्लो भइरहेको छ । यत्तिसम्मकी शरणार्थी प्रकरणसँग जोडिएका भेटवार्ताका फोटोहरु सार्वजनिक गरिरहने प्रधानमन्त्रीको सचिवालय र केपी ओलीको सचिवालयले समेत तस्बिर सार्वजनिक गरेका छैनन् ।

विकास निर्माणसँग सम्बन्धित काम वा दैनिक जीवनमा जनताले भोगिरहेको समस्या समाधानका लागि शीर्ष बैठक त के, सामान्य छलफल समेत नगर्ने ठूला नेताहरु भ्रष्टाचारका केस मिलाउन चाँहि निक्कै दौडधुप गर्ने गर्छन् । चाहे त्यो वाइडबडी काण्ड होस् या ललिता निवास काण्ड, चाहे त्यो लडाकु शिविरको काण्ड होस् या एनसेल काण्ड, चाहे त्यो कृष्णबहादुर महरा जोडिएको टेप काण्ड होस् या अर्थमन्त्रालयको सीसीटीभी काण्ड र बर्षौ पुरानो लाउडा तथा धमिजा काण्ड । यी सबै काण्ड शीर्ष नेताकै मिलेमतोमा ढिसमिस पारियो । अरु थुप्रै काण्डहरु होलान् जो मिडियामा आएका छैनन् वा मानिसहरुले सुइँकोसम्म पाएका छैनन्, ती सबैमा दलहरुका चोचोमोचो मिलाएर गुपचुप राखिएको छ ।

सम्भवतः प्रधानमन्त्रीको रुपमा काम गर्ने अन्तिम अवसर भएको बुझेका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड अहिले धेरैतिर प्रहार गर्ने रणनीतिमा रहेको उनको हाउभाउले देखाउँछ । उता आफ्ना पार्टीका जिम्मेवार नेताहरु नै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि यसलाई कसरी थामथुम पार्ने भन्ने ध्याउन्नमा छन् ओली र देउवा । हरेक घटना र प्रकरणमा सिघ्र प्रतिक्रिया दिइहाल्ने एमाले अध्यक्ष ओलीको बोली मधुरो सुनिन थालेको छ । उनको ओठमुख सुकेको छ । सार्वजनिक कार्यक्रममा फितलो भाषण गर्ने काँग्रेस सभापति चाँहि भित्रभित्रै यो केस मिलाउन लागेको स्रोत बताउँछ । आफ्नै पत्नी आरजु राणा र उनका प्रिय नेता बालकृष्ण खाँडकी पत्नी समेत भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि देउवाको दौडधुप हेर्न लायक छ । यो प्रकरणमा एमालेका सचिव टोपवहादुर रायमाझी मुछिएका छन् । उनीमाथी प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ भने उनी प्रहरीबाट छलिएर बसिरहेका छन् । फरार सूचीमा रहेका उनको खोजीका लागि सोमबार मात्रै गृहले ७७ वटै जिल्लामा पत्राचार गरेको छ । यसमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, देउवा पत्नी आरजु मात्रै होइन, एमाले, काँग्रेस र माओवादीका नेताहरुका छोराहरुको नाम समेत मुछिएको छ ।

छानविन प्रकरणलाई प्रभावित पार्ने उद्देश्यले बैशाखको गर्मीमा तालु सुकाउने गरी उनीहरु दौडिरहेका छन् मानौँ देशमा कुनै ठूलो अप्रिय घटना हुन गइरहेको छ ।

तुलनात्मक रुपमा यो प्रकरणमा माओवादी नेताहरुको नाम कम जोडिएको छ । त्यसकारण पनि माओवादी हौसिएर एमाले र काँग्रेसका नेताहरु फसाउन बल गरिरहेको छ । तर, सरकारमा रहेको पार्टी मात्रैको चाहनामा नेपालमा कुनै निर्णय र काम गर्न सकिँदैन भन्ने तीतो इतिहास हामीसामू जगजाहेर छ । तर, यो प्रचण्डको सम्भवतः अन्तिम अवसर भएको हुनाले उनले खुट्टा कमाउनु हुँदैन । विपक्षी नेता लक्षित गरेर फायर खोल्न खोजेका प्रचण्डले आँट गरेर आफ्नै पार्टी विरुद्ध पनि फायर खोल्नुपर्छ । आफ्नै पार्टीका नेताहरु जोडिएको लडाकु शिविरमा भएको भ्रष्टाचार काण्डको फाइल पनि उनले खोल्नुपर्छ । उनले नखोले यसपछिका कुनै सरकारले त पक्कै त्यो फाइल खोल्नेछ । फेरि पनि तीन दलकै सहमतिमा तात्तातै रहेको यो काण्ड सामसुम पारियो भने २०८४ सालको चुनावमा सजाय त अवश्य मिल्नेछ ।

यो पढ्नु भयो ?