साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी एमालेबाट निलम्बित भएका छन् । एमालेका महासचिव शंकर पोख्रेलले एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । पार्टी सचिवबाट निलम्बन गरिए पनि एमालेले रायमाझीलाई सांसद पदबाट हटाउन सिफारिस गरेको छैन ।
उता भारतमा गएर लुकेको आशंका गरिएका एमालेका सांसद समेत रहेका रायमाझीले भने संसद सचिवालयलाई पत्र पठाएर विरामी रहेको उल्लेख गरेका छन् । उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै संसद सचिवालय पत्र पठाएका हुन् । विरामी भएका कारण आफू केहि दिन विदामा बसेको समेत उनले उल्लेख गरेका छन् ।