Ad Banner

“दरबार हत्याकाण्ड र दासढुंगा काण्ड नयाँ शिराबाट छानविन हुनुपर्छ, नागरिकता विधेयक एक महिनामा पास हुन्छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहितका विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विभिन्न सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा भएका हत्याकाण्डको छानविन नयाँ ढंगले गर्नुपर्ने बताएका हुन् ।

‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्छ । चाहे त्यो गौरको केस होस् चाहे त्यो भयानक दरबार हत्या काण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ । यस्ता घटनाको पुनः छानबिनका लागि राजनीतिक स्तरमा सहमति हुनुपर्छ ।’

सांसद प्रभु साहले रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरु कानुनको दायरामा आउँछन् कि आउँदैनन् भनी प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले गौर मात्र नभई दरबार हत्याकाण्ड, मदन भण्डारी र जीवराज आश्रितको मृत्युको दाशढुंगा घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

यस्तै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गो लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुङ्गो लाग्ने जानकारी गराएका हुन् ।

अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर होल्ड भएर बसेको र खारेज समेत नभएको अवस्था रहेको भन्दै प्रचण्डले सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए ।

यो पढ्नु भयो ?