साझा कथा । बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देखेका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो ।
उनले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएका छन् । पर्यटन क्षेत्रमा चार दशक पार गरेका उनी पछिल्लो समय नदी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा जुटेका हुन् । उनले सिन्धुपाल्चोकको सुकुटे, गोरखाको बुटार र नवलपुरको गैँडाकोटमा नदी किनारमा रिसोर्ट सञ्चालन गरेका छन्। सँगै र्याफ्टिङ, ढुङ्गालगायतका जलक्रिडाका गतिविधिमा उनको लगानी छ ।
र्याफ्टिङ र ट्रेकिङमा राम्रो दख्खल हासिल गरेका पर्यटन व्यवसायी थापाले नेपालका १८ नदीमा र्याफ्टिङ चलाएका छन् । त्यसो त अमेरिका, नर्वे, आइसल्याण्ड, भारत र पाकिस्तानमा ‘र्याफ्टिङ’ चलाएको अनुभव उनीसँग छ ।
सोलुखुम्बुमा जन्मिएर त्यही प्रवेशिका परीक्षा उत्तीर्णपछि काठमाडौँमा सरस्वती क्याम्पस पढ्दै गर्दा यो पेसामा उनी लागेका हुन् । उनले भने, “चार वर्ष जागिर खाएपछि म र्याफ्टिङतर्फ आकर्षित भएँ ।” सुरुआती समयमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा र्याफ्टिङमै उनले जागिर खाए । यही सिलसिलामा उनी तालिमका लागि अमेरिका पुगे । पछि नेपाल फर्किएर उनले विसं २०५१ मा सिन्धुपाल्चोकमा सुकुटेबीच रिसोर्ट सञ्चालनमा ल्याए । जग्गा किनेसँगै क्याम्पिङ टेण्टमा विदेशी पर्यटक राखेर सुरु गरेको सुकुटे अहिले सुविधा सम्पन्न रिसोर्ट बनेको छ । सिन्धुपाल्चोकको साङ्गाचोक गढी नगरपालिका–९ मा सुकुटेबीच एभेन्चर रिसोर्ट छ । शुक्रबार साँझ सुकुटेबीच पुगेका गैँडाकोटका पत्रकार गोविन्द घिमिरेले भने, “मलाई त विदेशको कुनै देश पुगेकोजस्तो अनुभव भयो । ” साँझदेखि रातभर खोलाको किनारमा तन्नेरीदेखि बूढाबूढीसम्म रमाएको उनले सुनाए ।
माथिल्लो सुनकोशी नदीको किनारमा त्यहाँ आउने पाहुना रमाउने गर्दछन् । मध्यरातसम्म नदी किनारमा रमाउने पाहुना कोही कोठामा त कोही क्याम्पिङ टेण्टमा सुत्ने गर्दछन् । थापाले भने, “एक रातमा पाँच सय जनासम्म हाम्रो रिसोर्टमा अट्छन् ।” प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ कर्मचारीको रोजाइ पर्न आफ्नो रिसोर्ट सफल भएकोमा थापालाई गर्व छ ।
उनको दोस्रो रिसोर्ट गोरखाको बुटारमा ‘गोरखाबीच’ रहेको छ । त्रिशूली नदी किनारमा तीन सय जना क्षमताको रिसोर्ट रहेको उनी बताउँछन् । यस्तै, हालै मात्र गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित नारायणी नदी किनारमा उनको तेस्रो रिसोर्ट ‘नारायणीबीच एडभेन्चर रिसोर्ट’ रहेको छ । सुकुटेमा २० र गोरखामा १० र्याफ्टिङ डुङ्गा छन् । गैँडाकोटमा तीन मोटरबोट रहेको उनले जानकारी दिए ।
नदी किनारलाई उपयोग गर्न सकियो भने बर्सेनि विदेश जाने नेपाली पर्यटकले यही खर्च गर्छन् । उनले भने, “हामीले विदेशी पर्यटक ल्याउने हो, नेपालीलाई यही रोक्ने हो ।” विदेशका सामुद्रिक किनारमा पाइने सबै सुविधा यही दिन सकिने थापाको भनाइ छ । उनका तीनवटै रिसोर्टमा पुग्दा विदेश गएकोजस्तै झल्को आउने गर्छ ।
सरकारले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधारमा लगानी गरे पुग्ने भन्दै उनले व्यवसायीले नै पर्यटन पूर्वाधारमा लगानी गर्ने बताए ।