Ad Banner

के भनेका थिए सांसद लेखनाथ दाहालले ? जसको कारण एमालेले संसद अवरुद्ध गर्यो

साझा कथा । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल सकिएसँगै आज शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले उठेका जिज्ञासामा जवाफ दिने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनासाथ नेकपा एमालेले विरोध जनायो ।

एमाले सांसद पदम गिरिले जेठ १० गते संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको प्रश्नलाई लिएर आपत्ति जनाएपछि एमालेका सबै सांसदहरु उठे र विरोध जनाए । एमाले प्रमुख सचेतक गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने अडान लिए । विरोधको श्रृंखला नरोकिएपछि संसद बैठक नै स्थगीत भयो ।

आखिर के भनेका थिए सांसद लेखनाथ दाहालले ?

संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा माओवादीका सांसद लेखनाथ दाहालले त्यसभन्दा अघिल्लो दिन बोल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्यको आलोचना गर्दै थिए । बोल्दै जाने क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको आरोप लगाएका थिए ।

उनले भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

सत्तारुढ दलको सांसदले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको आरोप लगाएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएको हो ।

यो पढ्नु भयो ?