साझा कथा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ ।
कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए । “एक्जिम बैंक अफ इन्डियाको पाँच अर्ब ऋण सहयोगमा यस खण्ड निर्माणको काम सुरु भएको थियो”, उनले भने, “योजनाको म्याद यही जेठ ३० गतेसम्म रहेको छ, जम्मा एक सय ३१ किलोमिटर खण्डमध्ये हालसम्म एक सय १५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।” पाल्पामा चार किलोमिटर तथा बाँकी नवलपुर खण्डमा कालोपत्र गर्न बाँकी रहेको योजनाप्रमुख पौडेलले बताए ।
“बाँकी रहेको कालोपत्र तथा रोड मार्किङको काम अबको १५/२० दिनभित्र सकिन्छ”, उनले भने, “तर गैँडाकोट–राम्दी खण्डका विभिन्न छ स्थानमा गरी एक हजार आठ सय मिटर खण्डमा पहिराका कारण कालोपत्रको काम गर्न सम्भव छैन ।” यस खण्डमा ठूला–चार र साना दुई पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्रका लागि पछि ठेक्का आह्वान गरिने जनाइएको छ । लामो समय भइसक्दासमेत गैँडाकोटको ढोडेनी क्षेत्रको सडक किनारमा रहेका रूख कटानका लागि वन विभागबाट अनुमति नपाइएकाले रूख नकाटी सडक कालोपत्र गर्ने तयारी भइरहेको छ ।
नवलपुरको गैँडाकोटबाट उत्तरमा चीनको कोरला जोड्ने नाकाका रुपमा रहेको यस सडकको दक्षिण खण्डको समग्र प्रगति ५० प्रतिशत सकिएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका योजनाप्रमुख शङ्कर पौडेलका अनुसार चार सय ४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको दुई सय ४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको छ ।
“गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ ”, योजनाप्रमुख पौडेले भने, “पन्ध्र वटा पुल निर्माणको चरणमा छन् । यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने भएको छ ।” पर्वतको फलेवास खण्डमा १४ किलोमिटर सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का आह्वान गर्नुपर्ने रहेको उनको भनाइ थियो । तराईलाई हिमाली जिल्लासँग जोड्ने कालीगण्डकी करिडोरको ८० किलोमिटर सडक नवलपुर खण्डमा पर्दछ ।

