साझा कथा । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्रीहरु हाँसे र केही सांसदको मुहारमा अनौठो चमक देखिन्थ्यो । सत्तापक्ष त छँदै थिए, विपक्षी दलका सांसदहरुले समेत टेबल ढ्याप ढ्याप पारे ।
नेकपा एमालेका नेता शेरबहादुर तामाङ त खुशी हुँदै साथीभाई तथा पत्रकारहरुलाई मेसेज लेखेर खुशी साटे । उनले लेखे, ‘गाँजा खेतीको वैधानिकता पहिलो खुट्किलो, म खुशी छु, सरकारलाई धन्यवाद, हामी सबैलाई बधाई । तपाईको समर्थनलाई धन्यवाद ।’
नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बिषयमा दुई खाले मत छन् । वैधानिक मान्ने र नमान्ने मतका बीचमा औषधिजन्य प्रयोगका लागि खेती गर्न सरकारले अध्ययन गर्ने घोषणा गरेको छ । यसको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेशमा पर्ने छ । त्यसको बढी लाभ लिनेमा बागलुङ हुनेछ ।
गाँजाको अध्ययन हुन सक्यो भने बागलुङको निसी, तमान, ताराखोला र ढोरपाटनका किसानले भाँगो उत्पादनका लागि लगाईका गाँजा जस्तै रुख प्रहरी पुगेर जबरर्जस्ती फँडानी गर्नेछैन । किसानले भाओ उत्पादन बढाउन सक्छन् भने अध्ययन हुँदै गरेको गाँजाबाट पनि किसान लाभान्वित हुने छन् ।
गण्डकी प्रदेशभर सबैभन्दा धेरै भाँगो (स्थानीयले भाओ भन्छन्) उत्पादन हुने जिल्ला बागलुङ हो । बागलुङको पश्चिम क्षेत्रका अधिकांश स्थानीय तहमा भाँगो फल्छ । भाओे लगाएका किसानले फुल खेल्न थालेपछि मात्रै छुट्टाउन सक्छन् भाओे हो की गाँजा भनेर । गाँजा फल्दैन् तर भाओे फल्छ । “हाम्रो भूगोलका लागि यो असाध्यै राम्रो घोषणा सावित हुने छ, भाओे र गाँजाको सदुपयोग र दुरुपयोग कसरी हुन्छ भन्ने हो” तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने “हाम्रो पालिकाको जमिन उम्रिने फल्ने र आम्दानी दिने विषय बजेटमा समावेश हुनु सुखद हो ।” उनले अध्ययन मात्रै होइन औषधिजन्य गुण भएको गाँजाको व्यावसायिक उत्पादन र निर्यात हुनसके जिल्लाका अधिकांश स्थानीय तहका किसान धनी हुने बताए ।
वैधानिक बाटो नहुँदा यसको उत्पादन र निकासीको तथ्याङ्क भने छैन । बागलुङका किसानले पाखोबारी बाँझो नराख्नका लागि भाओेको खेती गर्छन् । भाओेसँगै गाँजा उम्रिने भएकाले प्रतिबन्धित लागू औषधको रुपमा रहेको भाओेका रुखलाई सरकारी संयन्त्रले नष्ट गर्ने गरेको छ ।