Ad Banner

अखण्ड भारतको काउन्टरमा हामी यसो गरौँ, तर लघुताभाषमा नबाँचौँ

साझा कथा टिप्पणी ।
अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भइरहेको छ । रक्सौलबाट उत्तरतिर फर्केर भारतीय नागरिकले थुक्यो भने नेपाललाई हेपेर थुकेको हो भन्ने मनोविज्ञानबाट ग्रसित नेपाली समाजलाई यो तस्बिरले नछुने कुरै भएन । यो तस्बिर हो, भारतको संसदमा टाँसिएको मुरल । मुरल अर्थात काठमा कुदिँएको कला । कुनै कलाकारले पौराणिक इतिहासलाई जोड्दै अखण्ड भारत दर्शाउने एउटा कला बनाए । यो आफँैमा अनौपचारिक छ । भारतीय सरकारले नक्सा नै प्रकाशन गरेको भए औपचारिक मान्न सकिन्थ्यो । यो त्यति चिन्ता गर्नुपर्ने विषय थिएन तर भारतको संसदभित्र राखिनुले भने केहि शंसय पक्कै जन्माएको छ ।

हुन त हामी नेपाली भारत भनेपछि सधैँ नकारात्मक भइहाल्छौँ । लघुताभासमा जिउन हामी बानी परेका छौँ । राजनैतिक, सामाजिक कुनै पनि परिघटनामा भारतको नाम जोडिहाल्छौँ । २३ बर्षअघि भारतीय अभिनेता ऋतिक रोशनले ‘मलाई नेपाल मन पर्दैन’ भन्यो भन्दै हामीले आफ्नै संरचना भत्कायौँ, रेलिङ भाँच्यौँ, आफ्नै सहरमा फाहोर गर्यौँ, आफ्नै पुलिसलाई ढुंगा समेत हान्यौँ । निश्चय पनि हो, भारतभन्दा हामी आकार, आर्थिक र सामरिक हिसाबले साना छौँ तर राजनीति सानो भन्ने हुँदैन । देशको सार्वभौमसत्ता सानो हुँदैन, अखण्डता सानो भन्ने हुँदैन । तर साना हौँ भन्ने मनोविज्ञानले हामी हेपिएका छौँ भन्ने सोँचिरहन्छौँ । हो, केहि मामलामा भारतले नेपाललाई हेप्दै आएको छ तर हरेक विषयमा भारत जोडिरहनु हिनता, जटिलता र लघुताभास मात्रै हो ।

नेपाल र भारतबीच जुन किसिमको सम्बन्ध छ त्यो शायदै विश्वको अन्य भूभागका मुलुकहरुबीच देखिएला ! एकअर्कासँग १७ सय किलोमिटर खुला सीमा रहेका यी दुई मुलुकबीच गहिरो ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्ध मात्रै होइन सीमावारपार रोटिबेटीको सम्बन्ध उस्तै चलिरहेको छ । तर यसो भन्दैमा भारतले नेपालको भूभाग आफ्नै हो भन्न त कहाँ मिल्छ र ?

हालै सार्वजनिक भएको यो तस्बिरसँग जोडिएका केहि अनुत्तरित प्रश्न र नेपालले गर्नुपर्ने काम छन् । सदीयौँ पुरानो अखण्ड भारत जसलाई भारतीय जनता पार्टीले हिन्दुकुशसँग जोडेर व्याख्या गर्ने गरेको छ, त्यो समय अफ्गानिस्तानदेखि म्यानमारसम्मको भूभाग एउटै थियो । पछि मात्रै राज्यहरु बनेका हुन् । भारतभित्र कैयौँ राज्य थिए, नेपाल आफैँमा पनि बाइसे चौविसे राज्यमा विभाजित थियो । नेपालको अहिलेको जुन भूभाग छ, त्यो भन्दा धेरै भाग नेपालको थियो । भारतमा अंग्रेजले शासन गर्नुभन्दा अघि र सुगौली सन्धी नहुञ्जेलसम्म विहारका कैयौँ भाग, पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म नेपालको भूभाग थियो । जसलाई हामी ग्रेटर नेपाल भनेर बुझ्छौँ । ग्रेटर नेपालको तस्बिर पनि छ्याप्छ्याप्ती छन् । हामीले संसदमा ग्रेटर नेपालको नक्सा बनाएर राख्न सक्छौँ कि सक्दैनौँ ? प्रश्न यो हो ।

भारतले दादागिरि देखायो भनेर चिच्याउनेहरुले ग्रेटर नेपालको मुरल बनाएर हाम्रो संसदभित्र राख्नुपर्छ भनेर अभियान सुरु गर्न सक्छन् कि सक्दैनन् ? जसले अहिले यो तस्बिरलाई जोडेर देशको अस्मिता लुटियो भनेका छन्, उनीहरुले उनीहरुकै पार्टी सरकारमा हुँदा ग्रेटर नेपालको तस्बिर राख्न सक्छन् कि सक्दैनन् ? अहँ सक्दैनन्, किनकी यो देशको चिन्ता होइन, यो त राजनीति हो । माओवादी सरकार बाहिर भएको भए अहिले यो विषय निक्कै उछाल्ने थियो । काँग्रेस त सदाबहार भारतको साथी भइहाल्यो । अहिले एमालेको चर्किएको स्वर उसकै नेतृत्वमा सरकार आयो भने संसदभित्र ग्रेटर नेपालको तस्बिर के राख्न सक्छ ? अंग्रेजसँग गरिएको सुगौली सन्धी खारेज गर्नका लागि हामी पहल गर्न सक्छौँ ? भारतसँग भएको १९५० को सन्धी पुनरावलोकन गर्न पहल गर्न सक्छौँ ? भारतको विरोध गरेर शब्द खर्चिनुभन्दा हामी आफैँले आफैँलाई प्रश्न गर्नुपर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा सार्वजनिक भएको यो मुरलका विषयमा चिन्ता गर्नुपर्ने र भारतको विरोध गर्नुपर्ने कुनै कारण छैन । बरु, प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग सुगौली सन्धी खारेज र १९५० को सन्धी पुनरावलोकन गर्नका लागि पहल गर्ने साहस गर्नुपर्छ । यति काम गरे, यो मुरलको विषय त्यसै समाधान हुनेछ ।
समाप्त ।

यो पढ्नु भयो ?