साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार अपराह्न भारत प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो १ः२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् । उनीसँगै सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव सहभागी भएका छन् ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । चार दिवसीय भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डको बिहीबार मोदीसँग भेटवार्ता हुने कार्यतालिका छ ।
बुधबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्दै छन् । प्रचण्ड–मोदीबीच वार्ता बिहीबार बिहान हैदराबाद हाउसमा हुनेछ । प्रधानमन्त्री प्रचण्डसहितका प्रतिनिधिमण्डललाई चाणक्यपुरीको आइसिटी मौर्य होटेलमा बस्ने प्रबन्ध मिलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीबाहेक राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा विद्युत् व्यापार विस्तारको एजेन्डालाई महत्व दिइने बताइएको छ । विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालको ट्रान्समिसन लाइन बनाएर विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँग पनि विद्युत् व्यापारको आधार तयार गर्ने काम यो भ्रमणको शिलशिलामा हुने जनाइएको छ ।
यस्तै, भारतसँग थाती रहेका सीमादेखि रहेर अरू मुद्दामा नेपालले आफ्नो दृष्टिकोण राख्ने जनाइएको छ । नयाँ दिल्लीमा प्रचण्डको स्वागतमा व्यानरहरु टाँगिएका छन् ।