Ad Banner

उफ् गर्मी..! तराईका विद्यालयहरु बन्द हुन थाले

साझा कथा । केहिदिनयता मुलुकभर चर्को गर्मी बढिरहेको छ । आज तराईका जिल्लाहरुमा ४० डिग्रीसम्मको तापक्रम छ । काठमाडौंमा ३० डिग्रीसम्मको तापक्रम मापन गरिएको छ । तराईका जिल्लामा गर्मी अत्याधिक बढेपछि जनजीवन प्रभावित भएको छ । काठमाडौंमा समेत गर्मी बढ्दा दिउँसोको समयमा तुलनात्मक कम मानिसहरु निस्कने गरेका छन् ।

गर्मी बढेपछि तराईका केहि जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको छ । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।

खजुरा गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द हुने जनाएको छ । गाउँपालिकालका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । अत्यधिक गर्मी भएका कारण विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएकाले शिक्षा समितिको निर्णयअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । नेपालगञ्जको अधिकतम तामत्रम ३८ देखि ४१ डिग्रीको हाराहारीमा रहेको छ । यसका कारण अत्यधिक गर्मी महसुस गरिएको छ ।

उता, पूर्वी तराईको जिल्ला सप्तरीमा पनि केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पढ्नु भयो ?