साझा कथा । केही दिनयता तराईका जिल्लामा गर्मी अधिक बढेको छ । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ भने जनजीवन नराम्ररी प्रभावित भएको छ । यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् । काठमाडौं लगायतका पहाडी भूभागहरुमा पनि गर्मी बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ । पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ । मौसमविद् गोविन्द झाका अनुसार यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको छ । मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ ।
जलवायु विश्लेषक इन्दिरा कँडेलका अनुसार आगामी केही दिनसम्म तराईका धेरै जसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने छ । तराईमा पाँच दिनसम्म तातो हावा चल्ने भएकाले सोबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको छ । लू लाग्दा शरीर शिथिल हुँदै जाने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि लक्षण देखापर्छ ।
गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ । गर्मीका कारण बालबालिकामा शारीरिक र मानसिक तनाव बढ्न सक्ने भएकाले ख्याल गर्नु पर्ने वरिष्ठ बाल रोग विशेषज्ञ डा. अनिल थापाले बताए । । गर्मीले बालबालिकामा छालासम्बन्धी रोगका साथै जन्डिस, टाइफाइड र झाडापखालाको समस्या पनि हुनसक्छ, उनले भने ।
अधिक गर्मीले बालबालिकाहरूमा ज्वरो आउने, रिँगटा लाग्ने बेहोस हुने जस्ता लक्षणहरू पनि देखा पर्ने र अधिक गर्मीले ज्यान नै जान सक्ने खतरा पनि हुन्छ । बालबालिकाहरूलाई १०४ डिग्रीसम्म ज्वरो आउने, मुटुको चाल बढ्ने, पिसाब रोकिने जस्ता कार्य भयो भने खतराको सङ्केत भएको बुझ्न थापाको आग्रह छ । यसको लागि पानी लगायतका पेय पदार्थ दिइराख्नुपर्ने विज्ञहरुको सुझाव छ ।